बाग्मति– हिन्दूको महान् पर्व शिवरात्रिका अवसरमा वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका ४ हुप्राचौरस्थित पशुपति मन्दिरमा आज बिहानदेखि पूजा गर्नेको भीड लागेको छ । महाशिवरात्रीका अवसरमा यहाँ आज बिहानैदेखि भक्तजनहरुको भिड लागेको हो ।


ADVERTISEMENT


मन्दिरमा दर्शनका लागि आएका भक्तालुहरु धूप, दीप, फूल, अक्षता, बेलपत्र, धतुरो, मिष्ठान्न, दूध, दही, घिउ, सख्खरसहित पूजा सामग्रीका साथ धर्मावलम्बी लाम लागेर पूजापाठ गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


बिहानदेखि नित्यकर्मका साथ चोखो भई बालबालिका, वृद्धवृद्धा, महिला र पुरुषले सो मन्दिरमा पूजापाठ गर्नाका साथै प्रसाद चढाएका छन् । मन्दिर परिसरमा भजनकीर्तन, नाचगान गरिएको छ ।

मन्दिरको बाहिर मेला लाग्नाका साथै व्यावसायिक कारोवारसमेत बढेको पाइएको छ । आज राति जाग्रामसमेत गरिने मन्दिर समितिले जनाएको छ । हाल त्यहाँ प्रहरी सुरक्षा बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शिवको पूजाराधना गर्नाले सुख, समृद्धि र मनोकामना पूरा हुने विश्वास छ ।

त्यस्तै हेटौँको फरेष्टी कलेजका हातामा रहेको शिवमन्दिरलगायत मकवानपुरका अन्य शिवमन्दिरमा पूजापाठ गरिएको छ । हेटौँडा १० स्थित रापती तटको गोरेक्षश्वर मन्दिरमा आज बिहानैदेखि भक्तजनले पूजाआजा गरेका छन् । भक्तजन हेटौँडालगायत विभिन्न स्थानबाट शिवको दर्शन गर्न लामबद्ध छन् । उनीहरुलाई आकस्मिक रुपमा स्वास्थ्योपचार सेवा पनि उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

शिव मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई शान्तिसुरक्षाको उचित प्रबन्ध मिलाइएको प्रजिअ गोविन्दप्रसाद रिजालको भनाई छ । रासस