झापा – झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना४अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक आज बिहान हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका ६ सुनाचुरीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


मृत्यु हुनेमा बसका चालक वीरगञ्ज महानगरपालिका १५ बस्ने ३५ वर्षीय मदनकुमार थापा क्षेत्री, बसमा सवार भारत सिस्वा बस्ने अभयलाल कुसुवाह र भारतको विहार बस्ने सुनिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार, दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा आज बिहान ५ बजे, बसमा सवार अभयलालको उपचारको लागि हेटौँडा अस्पताल ल्याएको र चिकित्सकले मृत घोषणा गरेको र दुर्घटनामा गम्भीर भएका सुनिललाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको र चिकित्सकले मृत घोषणा गरेको हो ।


ADVERTISEMENT

# # #


सोही दुर्घटनामा परी ट्रक चालक, सहचालक गरी तीन र बसका सात गरी १० जना घाइते भएका छन् । घाइते सबैको चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

उक्त बसमा अन्दाजी ३५ यात्रु सवार थिए । तीमध्ये सातमात्रै घाइते रहेको जनाइएको छ । उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । रासस