सर्लाही– उत्तर–पश्चिम क्षेत्रमा सयौं हेक्टरमा उत्पादन भएको आलुले उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् ।


ADVERTISEMENT


छिमेकी मुलुक भारतबाट बजारमा सस्तो मूल्यमा आलु भित्रिएकाले यस क्षेत्रका किसानले उत्पादन गरेको आलुले भाउ नपाएका कारण किसान मारमा परेका हुन् । किसानले प्रतिकिलो ७०/८० रुपैयाँमा बीउ किनेर रोपेको आलु अहिले १५ रुपैयाँमा बिक्री गरेका छन् ।


ADVERTISEMENT

# # #


लामो समयदेखि व्यावसायिक रुपमा आलुखेती गर्दै आएको वाग्मती नगरपालिका–७ राजघाटका रामप्रवेश महतोले यसवर्ष दुई बिघा क्षेत्रफलमा आलुखेती गरेका छन् । उनले खेतबाट नै व्यापारीलाई प्रतिकिलो १५ रुपैयाँ आलु बिक्री गरेका छन् । महतोले दुई बिघामा लगाएको आलुबाट गत वर्ष छ लाख १६ हजार रुपैयाँ आम्दानी गरेका थिए । यस वर्ष तीन लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनुपरेको उनले बताए । महतोका अनुसार, यसवर्ष प्रतिकट्ठा १० हजार रुपैयाँसम्म खर्च भएको छ ।

त्यस्तै, बरहथवा नगरपालिका–२ हजरियाका किसान चन्द्रप्रसाद वाग्लेले यसवर्ष आलु खेतीबाट लागत उठाउनसमेत मुस्किल परेको गुनासो गरे । ‘‘गत वर्ष प्रतिकिलो २५ रुपैयाँमा बिक्री गरेका थियौँ’’, उनले भन, ‘यो वर्ष १५ रुपैयाँमा बेच्नु पर्‍यो, लागत र परिश्रम उठेन ।’ आलु लगाउने समयमा कालोबजारीमा युरिया मल प्रतिबोरा एक हजार ४०० देखि एक हजार ८०० रुपैयाँसम्म किनेको उनको भनाइ छ ।

उनका अनुसार, भण्डारण स्थलको अभावमा किसानले खेतबाट नै आलु बिक्री गर्न बाध्य भएका छन् । सर्लाहीमा हजरिया, राजघाट, बरहथवा, शङ्करपुरलगायतका क्षेत्रमा व्यावसायिक रुपमा आलुखेती हुने गरेको छ । यस क्षेत्रमा लालगुलाब, कुप्रिसिन्दुरे, विविरे र कोमल जातको आलुको खेती गरिन्छ । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर करीब एक हजार ४०० हेक्टरमा आलुखेती हुने गरेको छ । यस वर्ष मात्र तीन लाख ५२ हजार २०० क्विन्टल आलु उत्पादन हुने ज्ञान केन्द्रले जनाएको छ ।

यस क्षेत्रका किसानले मकैलगायतको बालीमासमेत घुसुवा बालीको रुपमा आलु उत्पादन गर्दै आएका छन् । सर्लाहीमा उत्पादित आलु वीरगञ्ज, रौतहटको चन्द्रपुर, बाराको कलैया लगायतको स्थानमा शीत भण्डारणको लागि लैजानुपर्ने बाध्यता रहेको बरहथवा–२ हजरियाका किसान महेश बरालले गुनासो गरे । रासस