मोरङ– राष्ट्रिय जनगणना–२०७८ गुणस्तरीय बनाउन प्रदेशस्तरीय प्रशिक्षक तालीम यहाँ शुरु भएको छ । केन्द्रीय तथ्याङ्क विभाग काठमाडौँद्वारा आयोजित यही चैत १५ गतेसम्म सञ्चालित तालीममा प्रदेशका १० जिल्ला (साविक मेची अञ्चलका चार जिल्ला बाहेक) का शिक्षक तथा शिक्षा कार्यालयका १७२ कर्मचारीको सहभागिता छ ।


ADVERTISEMENT


विसं २०७८ जेठ २५ देखि असार ८ गतेसम्म हुने १२औँ राष्ट्रिय जनगणनाका लागि घरदैलामा खट्ने गणकलाई प्रशिक्षण दिन प्रशिक्षक तालीम आयोजना गरिएको हो ।


ADVERTISEMENT

# # #


तालीममा सहभागीलाई सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण दिइने छ । प्रशिक्षितले आफ्ना जिल्लामा जेठ १७ देखि २२ गतेसम्म सुपरीवेक्षक र गणकलाई प्रशिक्षण दिनेछन् । प्रदेश नं १ का प्रमुख सचिव एवं प्रदेश जनगणना समन्वय संयोजक सुमनराज अर्यालले जनगणना गुणस्तरीय बनाउनुपर्नेमा जोड दिँदै सत्यतथ्य सूचना सम्प्रेषणबाट मुलुकको राजनीति, विकास, वित्तीय क्षेत्रमा प्रभाव पर्ने बताए ।

धर्म, जात, अपाङ्गता, विकास जस्ता विषयको समावेशी नीतिनिर्माणमा महत्वपूर्ण भूमिका हुनाले सही तथ्याङ्क सङ्कलन आवश्यक रहेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको भनाई छ ।

केन्द्रीय तथ्याङ्क विभागका निर्देशक गणेशराज अर्यालले सामाजिक, वातावरण र घरसमेत गरी तल्लो तह यस वर्ष जनगणनामा समावेश गरिने जानकारी दिए ।

प्रदेशका ६० स्थानीय तहमा जनगणना कार्यालयको स्थापना गरिएको प्रदेश जनगणना कार्यालयका प्रमुख तीर्थराज बरालले जानकारी जनाए । राष्ट्रिय जनगणना –२०७८ मा ७७ जिल्लाका ८७ कार्यालयमा ५० हजार जनशक्ति एवं रु चार अर्ब खर्च हुने अनुमान गरिएको छ । रासस