काभ्रेपलाञ्चोक– पुरातत्व विभागले पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा आजदेखि ‘जियोफिजिकल सर्भे’ (भूभौतिकी सर्वेक्षण) शुरुआत गरेको छ ।


ADVERTISEMENT


विभागले बेलायतबाट आएको टोलीका प्रतिनिधिसहित पाँचखाल नगरपालिका–७ तथा वरपरको सम्पदा क्षेत्रमा सर्भे शुरु गरेको हो ।


ADVERTISEMENT

# # #


पहिलो चरणमा जमिनमुनि के–कस्तो भौतिक संरचना छ? भन्ने पत्ता लगाउन जियोफिजिकल सर्भे गर्न लागेका विभागका निर्देशक दामोदर गौतमले जानकारी दिएका छन् । पाँचखाललगायत मुलुकका विभिन्न स्थानमा रहेका सम्पदाको सर्भे गर्न बेलायतस्थित दूरहाम विश्वविद्यालयका विज्ञ टोली मार्च पहिलोसाता नेपाल आएको थियो ।

उनका अनुसार, नेपालका केही स्थानमा खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि जियोफिजिकल सर्भे गर्नु आवश्यक देखिएकाले बेलायतबाट टोली मगाइएको हो । टोलीले कपिलवस्तुबाट सम्पदा खोज–अनुसन्धान थालेको थियो ।

पाँचखालमा भने विभागका पुरातत्व अधिकृत विष्णु पाठकको नेतृत्वमा चार जनाको टोली सर्भेमा खटाइएको छ । विभागले गतसाता काभ्रेपलाञ्चोकको जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रशासन कार्यालय, पाँचखाल नगरपालिकाको कार्यालय, जिल्ला प्रहरी कार्यालय र पाँचखाल नगरपालिका–७ नम्बर वडा कार्यालयलाई पाँचखालको करिब ६०० रोपनी जमिनमा गरिने सर्भेमा सहयोग गर्न अपिल गरेको थियो । पाँचखालमा सर्भे र ड्रोन क्यामेरामार्फत फोटो लिने काम भइरहेको उनले बताए ।

पाँचखाल क्षेत्रमा करिब करिब दुई वर्षअघि गरिएको खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन सम्पदा भएपछि विभागले जियोफिजिकल सर्भे थालिएको हो । सर्भे मेसिनले सम्पदा क्षेत्र तथा जमिनमुनि सात मिटरसम्मको भौतिक अवस्था पत्ता लगाउने विभागका महानिर्देशक गौतमको भनाई छ । विभागले संयुक्त राष्ट्रसङ्घीय अङ्ग (युनेस्को) लाई गत असार (सन् २०२०, जुन २९)मा पाँचखालको सम्पदाबारे जानकारी गराइसकेको थियो ।

पाँचखाल क्षेत्रमा उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको पुष्टि गर्दै उत्खननमा सहभागी विभागका अधिकृत पाठक र वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यद्वारा तयार प्रतिवेदनमा पाँचखाल नपा–२ माल्टारमा अवस्थित विभिन्न व्यक्तिको खेतमा भेटिएका प्राचीन दरबारको गारो, २२ सेन्टिमिटर चौडाइ भएको इँटालगायतका सामग्री लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको उल्लेख छ ।

उत्खननका क्रममा भेटिएको अन्य आकारका इँटा र अङ्गारको थप अनुसन्धान गर्न बाँकी रहेको उल्लेख गर्दै श्रीरामपाटीमा तीन मिटर लम्बाइ र दुई मिटर चौडाइ उत्खनन गर्दा पक्की इँटाको गारोभित्र माटाको डुँडद्वारा पानी पाइपलाइन भेटिएको थियो । साथै स्थानीय प्रस्तर प्रयोग गरी एक मिटर ५० सेन्टिमिटरको आधार बनाई ६० सेन्टिमिटर सुर मिलाएर गारो बलियो बनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । खोज अनुसन्धानकर्र्ताले उत्खनन क्षेत्रको संरक्षण र अवैध उत्खनन रोक्नुपर्ने सुझाव दिँदै आएका छन् ।

पाँचखाल नगर क्षेत्रमा भेटिएका सम्पदा सुरक्षार्थ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक समेतले सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाउँदै आएको छ । रासस