बलेवा– होली पूर्णिमाका अवसरमा लागेको मेलामा दोहोरो झडपपछि दुई युवाको मृत्युका विषयमा अनुसन्धान गर्न प्रहरी प्रमुखको टोली घटनास्थलतर्फ लागेको छ ।


ADVERTISEMENT


बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा भएको घटनाका विषयमा अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरको टोली घटनास्थलतर्फ लागेको हो ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार, घटना भएलगत्तै मगरको कमाण्डमा ११ जनाको टोली बुर्तिबाङ प्रस्थान गरेको हो । आइतबार दिउँसो दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको थियो । हिजो राति नै गलकोटबाट प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेको थियो । झडपपछि निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र सोही ठाउँका ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको छ ।

मृतकको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्यचौकीमा हिजो राति नै ल्याइएको हवारीले बताए । उनीहरुको भिरबाट ५०० मिटर तल खसेको अवस्थामा शव भेटिएको थियो ।

प्रहरीका अनुसार, सामुहिक भिडन्तपछि सम्पर्कविहीन भएकाहरू हाल सम्पर्कमा आइसकेका छन् । सम्पर्कमा आएका ६/७ जना सामान्य घाइते छन् । मृतक कुँवर नेपाली कांग्रेसका जिल्ला सदस्यसमेत थिए ।

स्थानीयवासीका अनुसार, दिउँसो मदिरा खाएर होली मनाउन जम्मा भएका युवाहरूको बीचमा भनाभन हुँदा झडप भएको थियो । रासस