रसुवा– सहभागितामूलक तवरले राष्ट्रिय जनगणना विसं २०७८ सफल पार्न आज रसुवामा पहिलो सर्वपक्षीय छलफल सम्पन्न भएको छ ।


ADVERTISEMENT


‘जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग, उमेर, समूह समग्रमा कति छौँ?’ भन्ने उद्देश्यका साथ आगामी २०७८ जेठ २५ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने जनगणनाको समग्र कार्यतालिका आम नागरिकलाई सूचित गराउन स्थानीय तहका प्रतिनिधि, नागरिक समाज, सरोकारवाला निकाय, पत्रकारसमेतको सहभागितामा कार्यक्रम सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT

# # #


जनगणना सम्पन्न गर्न ७८ गणक एवम् २१ सुपरभाइजर परिचालन हुने जिल्ला जनगणना अधिकारी कपिल धितालले जानकारी दिएका छन् । दोहोरोपन हटाउन जुन स्थानमा बसोवास गरेको छ सोही स्थानमा बस्नेको मात्र गणना हुने भएकाले घरघरमा आउने गणकलाई सही रूपको पारिवारिक विवरण दिई राष्ट्रिय जनगणना सफल पार्न समुदायमाझ आग्रह गरिएको बताइएको छ ।

जिल्लास्तरमा गरिएको सचेतना कार्यक्रममा प्रमुख गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले जनगणना सफल पार्न आम समुदायको पूर्ण सहयोग मिल्ने र वडास्तरको समितिलाई अग्रसर गराउँदा सही तथ्याङ्क आउने सुझाव दिए ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जनगणनाबाट जनसङ्ख्याको अवस्था र लैङ्गिक, ज्येष्ठ, बालबालिका एवम् युवा, घरायसी सेवा सुविधाको अवस्था, शैक्षिक, श्रमशक्ति एवम् अपाङ्गता भएका व्यक्तिसमेतको सही तथ्याङ्क आउने भएकाले गाउँघरमा पुग्ने गणकलाई सही विवरण उपलब्ध हुनेमा जिल्ला प्रशासन कार्यालय आशावादी भएको बताएका छन् । रासस