जुम्ला – जुम्ला तिला गाउँपालिका ९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । पचहत्तर घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार आगो नियन्त्रण बाहिर छ ।


ADVERTISEMENT


पर्याप्त पानी नभएका कारण आगो निभाउन सकिएको छैन । घरको छाना निकाल्ने र माटो हालेर आगो निभाउने लिने प्रयास भइरहेको उनले बताए । वडाध्यक्ष बोहोराले भने, “आगो नियन्त्रण बाहिर छ । निभाउनका लागि पानी छैन, घरमा जलेको आगो हेरेर बस्नुको विकल्प छैन ।”


ADVERTISEMENT

# # #


पैँतीस घरभित्रको अन्नबाली सबै सखाप भइसकेको छ । आगो कसरी लागेको हो भन्ने विषयमा जानकारी लिने प्रयास भइरहेको छ । आगलागीका कारण मान्छे बेहोस छन् । आगलागीबाट क्षतिको यकिन विवरण आउन बाँकी छ । तिला ९ ढिपुगाउँ वर्षायाममा छ महिना बस्ने बस्ती हो । यस समयमा हिमपात हुने र अत्यधिक चिसो हुने भएकाले सबै ढिपुगाउँमा बसेका छन् । मुल्लीमा वर्षायाममा भण्डारण गरिराखेको अन्नपात सबै जलेको हो ।

वडाध्यक्ष बोहोराले भने, “स्याउला सङ्कलनका लागि एक/दुई दिनभित्र गाउँले नै त्यो बस्तीमा जाने भनेका थिए । आगोले बस्ती खरानी बनाइसक्यो ।” उनले उद्धार र राहतका कार्यमा साथ दिन सबै सरोकारवालालाई आग्रह गरेका छन्।

जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले आगलागी भएको खबर पाउनेबित्तिकै तत्काल उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आगलागी भएको घटनास्थलतिर पठाइसकेको बताए । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले तिला ९ ढिपुको मुल्लीमा आगलागी भई ३५ घर नष्ट भएको प्रारम्भिक खबरले दुखित तुल्याएको बताए । “उद्धारका लागि घटनास्थलतर्फ सुरक्षाकर्मी परिचालित भइसकेको अवस्था छ,” उनले भने, “उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग गर्न सम्बद्ध पक्षलाई अनुरोध गर्दछु ।”

यसअघि तिला ७ पोखरीगाउँको गोठीमा आगलागी हुँदा ३१ घर जलेर नष्ट भएको थियो । यससँगै जुम्ला आगलागीको उच्च जोखिम क्षेत्र बनेको छ । सदरमुकामस्थित ढाण थपला सामुदायिक वन र कार्तिक स्वामी सामुदायिक वनमा आगलागी भएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो निभाउन सफल भएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । रासस