गुरु भट्टराई

महाप्रवन्धक, नेपाल रेल्वे कम्पनी

 रेल आएपनि हालसम्म सञ्चालन हुन सकेको छैन । के कारणले रोकियो ?


ADVERTISEMENT


भारत सरकारले निर्माण गरेको पूर्वाधार अनुरुप रेल सञ्चालन गर्ने योजना हामीले बनाएका थियौँ । केही समय अघि भारतले काम सकिएको जानकारी दिएको थियो । तर निरीक्षण टोलीले निरीक्षण गर्दा थुप्रै काम बाँकी थियो, अहिले पनि केही बाँकी छन् । यसैगरी रेल खरिद गर्ने बेलामा संरचना कहिलेसम्म तयार हुन्छ; त्यसलाई सञ्चालन गर्ने जनशक्ति, अन्य तयारी, बजेट व्यवस्थापन, मर्मत सम्भार लगायतका कुरा पनि छुटेका थिए । अहिलेको संरचना भारतले भारतबाटै आफ्नै रेल आउने मर्मत यार्ड, फ्युलिङ उतैबाट आउने र मर्मत हुनेगरी पूर्वाधार बनाएको देखिन्छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीज्यूले आफ्नै रेल चलाउने भनेपछि जीटूजीमार्फत २ वटा रेल खरिद गरेकोमा ९ महीनामै रेल तयार भयो ।

लकडाउनकै बेला रेल तयार भएकोमा ३/४ महीना भारतमै रह्यो । संरचना नबनेसम्म भारतमै रेल राख्ने निर्णय भएपनि जोडबल गरेर मैले उक्त रेल नेपाल ल्याएँ । रेल ल्याएपछि सञ्चालनका लागि संरचना तयार गर्नुपर्ने भयो र त्यसअनुसार हामीले तयारी गर्यौँ ।

पहिलो काम त कर्मचारी व्यवस्थापन गर्नु थियो मन्त्रिपरिषदबाट करारमा कर्मचारी नियुक्त गर्ने निर्णय गरायौँ । तर लोकसेवा आयोगले यत्रो संख्यामा करारमा कर्मचारी राख्न ठीक नहुने भन्दै स्थायी कर्मचारी राख्न भनेपछि त्यो काम रोकियो । कर्मचारीहरुको पदपुर्तीका लागि विभिन्न अभ्यास गरियो । त्यसअनुसार ठीक रेल सञ्चालनकै लागि योग्य नभएपनि प्रशासनिक कर्मचारी ल्याउने र प्राविधिक भारतबाट ल्याएर तालिम दिएर राख्ने भनेका छौँ । तर निजामतिले पुग्दैन ।

लोकसेवाले करारमा नियुक्त गर्न रोकिदिएको छ । स्थायी आउन समय लाग्ने भएकाले मन्त्रिपरिषद्लाई अनुरोध गरेर ज्यालादारीमा कर्मचारी राख्ने निर्णय गरेर पुरानो रेल चलाएका कर्मचारीलाई काममा लगाउने तयारी गरेका छौँ ।

केही दिनभित्र फिल्डमा तयार हुने गरी कर्मचारी व्यवस्थापन गरेका छौँ । भारतबाट प्राविधिक आउनेबित्तिकै तालीम दिन्छौँ र आधारभूत तालीम दिएर फिल्डमा कर्मचारी खटाउँछौँ ।

यही वैशाख ७ गते रामनवमीको दिनदेखि रेल चलाउने गरी हामीले सम्पूर्ण तयारी गरेका छौँ । तत्काल जनशक्ति जोडजाम गरेर कामचलाउ ढंगले सञ्चालन गर्ने योजना भएकोमा विस्तारै सबै तयारी पूरा गर्दै जाने योजना छ ।

रेल सञ्चालनका लागि अहिलेसम्म के के काम सकिएका छन् ?

कर्मचारीहरु आउने क्रममा छन् । आइटी खरिद गरेर राखेका छौँ, सेटअप गर्न बाँकी छ । तर त्यो त्यति ठूलो काम होइन । कर्मचारीहरुलाई  एक साताको आधारभूत तालीम दिएर र भारतसँग सम्झौता गरेर रेलको काम अघि बढ्छ ।

रेल चलाउन ‘रेल्वे ऐन’ चाहिन्छ । ऐन नियमित प्रक्रियाबाट आउँछ अथवा अन्तरिम केही व्यवस्था हुन्छ त्यो सरकारको पाटो भयो । हाम्रो तर्फबाट लगभग सबै तयारी पूरा भएको छ ।

वैशाख ७ गते, रामनवमीकै दिनबाटै रेल सञ्चालन गर्ने बताउनुभएको छ, ऐनबिना कसरी चलाउनुहुन्छ ? ऐनको विकल्प के हुन्छ?

ऐनको विकल्प के हुनसक्छ त्यो त कानूनविज्ञहरुसँग परामर्श गर्नुपर्छ । रेल चलाउन अहिलेसम्म चाहिँ ऐन चाहिन्छ । भारतबाट आउने प्राविधिकलाई ऐनबिना काम गर्न गाह्रो हुन्छ । कुनै दुर्घटना भयो या केही भयो भने त्यो जोखिम हुन्छ । सुरक्षाको कुरा पनि छ । तर अब रेल दौडाउनुछ, तत्काल उद्घाटन गर्ने हो ।

रेल कहाँसम्म चल्छ ?

उद्घाटनको चरणमा जयनगरबाट ४/५ किलोमिटर पश्चिमतर्फ रेल सञ्चालन गर्छौँ । यही आर्थिक वर्षमा महोत्तरीको विजयापुरासम्म चलाउँछौँ । विजयापुराबाट बर्दिबाससम्मको संरचना भने बन्न बाँकी छ ।

दुईवटै रेल सञ्चालन हुन्छ ?

शुरुमा एउटा रेल सञ्चालन हुन्छ र १० दिनपछि त्यो नियमित सर्भिसिङमा जान्छ । त्यसपछि अर्को रेल चलाउँछौँ । यसरी प्रत्येक १० दिनको रोटेशनमा एक/एक गरेर दुईटा रेल चल्छ ।

सञ्चालन खर्च कति लाग्छ ?

करसहित रू. १ अर्बमा दुईवटा रेल खरिद भएको हो । अब यसमा लाग्ने भनेको मुख्यतः सञ्चालन खर्च नै हो । शुरुवात भएकाले बढी खर्च लाग्छ ।

वार्षिक रेल सञ्चालन खर्च २० देखि २५ करोडसम्म लाग्छ । भारतबाट प्राविधिक आउने भएकाले उनीहरुलाई दिइने तलब खर्च बढी छ, नेपाली निजामति कर्मचारीसँग तुलना गरेर हुँदैन । रेलमा सञ्चालन खर्चै बढी छ, यो हात्ती पाले जस्तै हो ।

भारतीय प्राविधिकलाई जति चाँडो विस्थापित गर्यो खर्च त्यति नै कम हुन्छ । प्राविधिक, सर्भिसिङ, ट्र्याक, सिग्नल लगायतको काम पनि गर्नुपर्ने भएकाले शुरुवातमा अझ बढी खर्च लाग्छ ।

रेल चलाएर सञ्चालन खर्च उठाउन सकिन्छ त ?

रेलै चलाएर लगानी उठाउन सकिन्न । यसमा अप्रत्यक्ष रुपमा अन्य व्यवसाय गरेर रेल चलाउने हो । जस्तो मसँग जनकपुरमा १५ बिगाह जग्गा छ । अब रेल चलेपछि यात्रुहरुको आवतजावत हुन्छ । त्यो जग्गामा म रेस्टुरेन्ट खोलेर नाफा कमाउन सक्छु । यसरी अन्य व्यवसाय गरेर यसबाट फाइदा लिने हो । रेलै चलाएर भाडा उठाउँछु भन्ने हुँदैन । रेल चल्न थालेपछि यस्बाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा फाईदा लिने हो ।

अहिले खरिद गरिएको रेल पेसेन्जर रेल हो, रेलै चलाएर लगानीसम्म उठाउन सकिने देखिएन । व्यवसाय प्रयोजनका लागि कार्गो रेल सञ्चालनको योजना के छ ?

कार्गो रेल सञ्चालनका लागि सोचिरहेका छौँ । सामान निर्यात भन्दा पनि भारतीय सामान आयात गर्नेगरी कार्गो चलाउन सके नेपालमा सामान सस्तो हुनसक्छ । अहिले सामान आयात गर्दा खर्चै बढी लाग्छ । सेटअप राम्रो भएर पेसेन्जर रेल सञ्चालनमा आइसकेपछि कार्गो रेल थप्न पर्छ भन्ने सोच बनाएका छौँ ।

रेल चलाउनअघि भारतीय पक्षसँगको सम्झौताका लागि के भइरहेको छ ?

अन्तरदेशीय रेल भएकाले भारतीय पक्षसँग सम्झौता हुन जरुरी छ । एसओपी स्टान्डर्ड मन्त्रिपरिषद्ले पास गरिसकेकोमा भारतमा पनि पठाइएको छ र दुबै पक्षबीच छलफल भएर स्वीकृति भइसकेको छ । केहीगरी कुनै अप्रिय घटना भयो भने जुन देशभित्र उक्त घटना घटेको छ त्यही देशको कानून मान्य हुने गरी सहमति भएको छ ।

रेल सञ्चालनका विषयमा हामी र भारतीय पक्षबीच पुरा गर्नुपर्ने सम्झौतागत कुराहरु देखि लिएर कानुनी, व्यवहारिक र कार्यगत समझदारीलाई एकदमै सकारात्मक र समन्वयात्मक ढँगले पुरा गरिरहेका छौं । रेल सञ्चालनले दुई देशबीचको सम्बन्धको उचाईलाई समेत थप चुल्याउन र दुई छिमेकी देशबीचको निकटतालाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्छ ।

रेल सञ्चालनका लागि भारतीय पक्षको भूमिका चाहिँ कस्तो छ ?

रेल सञ्चालनका लागि भारतीय पक्ष अझै गम्भीर भएर लागिरहेको छ । भारतले सबै काम चाँडो सक्न हामीहरुलाई भनिरहेको छ । हामी विभिन्न प्रक्रियामा घुमिरहन्छौँ, हामीहरुभन्दा उहाँहरु बढी व्यग्रतापूर्वक लागिरहनुभएको छ । नेपाल स्थित भारतीय दूतावाससँग पनि मेरो नियमित जस्तो कुराकानी भईरहेको हुन्छ । रेल सञ्चालनका विषयमा उहाँहरुबाट धेरै राम्रो समन्वय र सहयोग मिलिरहेको छ ।

हाम्रोमा धेरै नै प्रक्रियागत झञ्झटहरु छन्, यस्ले गर्दा पनि काम गर्ने कुराको गतिमा सुस्तता देखिने गर्छ ।

तर हामी जुन हिसाबले लागि रहेका छौं र भारतबाट समेत हरेक हिसाबले साथ, सहयोग, समन्वय र सहकार्यको वातावरण बनिरहेको छ यसले गर्दा नेपालमा हामीले आफ्नै रेल दौडाउने हाम्रो सपना चाँडै पुरा हुँदैछ ।

अन्तिममा रेलको पर्खाइमा बसेका नागरिकहरुलाई के भन्नुहुन्छ ?

यो नयाँ होइन, पहिले पनि रेल चल्थ्यो भनेर आलोचना हुने गरेको छ । नेपाललाई रेल पनि चाहिन्छ र ? किन चाहियो भनेर विभिन्न दुश्प्रचार पनि गरिएको छ । पहिले रेल चल्ने भएपनि त्यो विस्थापित भएर हामीले नयाँ आधुनिक रेल ल्याएका छौँ । रेललाई विस्तार गरेर पूर्वपश्चिम रेल चलाउने योजना बनाएका छौँ । यो शुरुवात हो । अहिले जति सानो दूरीमा चलाएपनि भोलिको ‘रेल युग’को निर्धारक हो यो । भारत र चीनलाई रेलमार्गले जोड्ने योजनाअनुसार काम भइरहेको छ । अहिलेको रेल चलेपछि भारतीय पर्यटक बढ्छन्, आयात निर्यातमा सहज हुन्छ । त्यसैले यो भोलिको रेलको संरचनाहरुका लागि पनि शुरुवात हो । यो प्रधानमन्त्री केपी शर्मा ओलीले देखेको समृद्ध नेपाल सुखी नेपालीबारेको सपनाको एउटा साकार रूप पनि हो ।