काठमाडौँ– गोरखामा कांग्रेस र नयाँ शक्तिबीच तालमेल हुने भएपछि देशभर तालमेल गरेका एमाले–माओवादीसँग कडा प्रतिस्पर्धा हुने भएको छ ।


ADVERTISEMENT


पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा मातृ पार्टी माओवादीबाट चुनाव जितेर प्रधानमन्त्री समेत भएका बाबुराम भट्टराई अन्ततः कांग्रेससँग तालमेल गर्ने भएका छन् ।
यसअघि एमाले–माओवादीको बाम गठबन्धनमा सहभागी उनी आफूले चुनाव जित्नै पर्ने र त्यो पनि गोरखा–२ बाटै उमेदवार बन्ने बताएपछि छुट्टिएका थिए । उता माओवादीका वरिष्ठ नेता नारयणकाजी श्रेष्ठले पनि त्यही क्षेत्र नछाड्ने भएपछि उनी कांग्रेससँग तालमेल गर्ने निर्णयमा पुगे ।


ADVERTISEMENT

# # #


स्थानीय तहको निर्वाचन नतिजा अनुसार पनि करिब बराबर भोट भएका यी दुई शक्तिबीच हुने प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ । दुबै उक्त क्षेत्रका स्थानीय नेता तथा यसअघि माओवादीमै रहेर काम गरेका हुन् । सूर्य चिन्ह लिएर बाम गठबन्धनबाट लड्न तयार भएका भट्टराईलाई श्रेष्ठले नै उक्त क्षेत्र नछाडेपछि कांग्रेससँग मिल्न पुगेका हुन् । यसले गर्दा पनि यो क्षेत्रको चुनावलाई दुई नेताको प्रतिष्ठाको लडाईँका रुपमा पनि हेरिएको छ ।

स्थानीय तहको मतपरिणमलाई हेर्दा पनि यो क्षेत्रमा दुई पक्षबीच निकै टक्कर हुने पक्का छ । उता गोरखा २ मा नयाँशक्तिले नेपाली कांग्रेसका सचेतक चिनकाजी श्रेष्ठलाईै सघाउने भएको छ । यस्तै सोही निर्वाचन क्षेत्रमा बाम गठबन्धनका तर्फबाट माओवादीका हरि अधिकारी उमेदवार बन्दैछन् ।

यसअघि ३ क्षेत्र रहेको गोरखामा नयाँ संरचनाअनुसार २ वटा क्षेत्र मात्रै कायम भएका छन् । गोरखामा ३ क्षेत्र कायम रहँदा भएका पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा माओवादी उमेदवार डा. भट्टराईसहित उक्त पार्टीका उमेदवार भारी मत अन्तरले विजयी भएका थिए । तर, हालै सम्पन्न स्थानीय तह निर्वाचनमा माओवादीका प्रभावशाली नेता भट्टराईले नयाँ शक्ति पार्टी खोलेर प्रतिस्पर्धामा जाँदा नतिजा भने निकै फरक आयो ।