काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना रोकथामका लागि सरकारले जारी गरेका नियमको पूर्ण पालना गर्न अपिल गरेका छन् । आज एक सन्देश जारी गर्दै उनले आफू पनि सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न आम नागरिकमा अपिल गरेका हुन् ।


ADVERTISEMENT


कोरोना भाइरसविरुद्धको सङ्घर्ष सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रयासले मात्रै नजितिने जनाउँदै उनले यसमा आम जनताको पूर्ण साथ र सहयोग चाहिने बताएका छन् । “जस्तोसुकै अप्ठ्याराहरुमा धैर्य गर्ने र उच्च मनोबलका साथ चुनौतीको सामना गरेर परिस्थितिलाई अनुकुलतामा बदल्ने हाम्रो विगत हो”, उनले सन्देशमा भनेका छन् ।


ADVERTISEMENT

# # #


निषेधाज्ञा अवधिमा कोरोना भाइरस परीक्षणलाई तीव्र बनाउन र सङ्क्रमितको प्रभावकारी उपचार गर्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपतिले अक्सिजनलगायत अत्यावश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्न तथा प्रभावित क्षेत्रमा थप चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले कोरोना भाइरसविरुद्धको खोप अभियानलाई व्यवस्थितरूपमा तीव्र बनाउनसमेत आग्रह गरेका छन् ।