टिकापुर– करदाता सेवा कार्यालय लम्कीले अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा पौने १४ करोड बढीले राजश्व वृद्धि गरेको छ ।


ADVERTISEMENT


कार्यालयले गत वर्षको तुलनामा रु. १३ करोड ८४ लाख एक हजार बढी राजश्व सङ्कलन गरेको हो ।


ADVERTISEMENT

# # #


कार्यालयले चालु आवको यस अवधिमा रु. ३९ करोड २० लाख राजश्व सङ्कलन गरेको छ । आन्तरिक कारोबारमा बढोत्तरी, करदाताको सङ्ख्यामा वृद्धि र कोरोना सङ्क्रमणका कारण गत वर्ष सङ्कलन नभएको कर यस वर्ष सङ्कलन भएका कारण प्रगति देखिएको हो ।

आव २०७६/७७ को सो अवधिमा रु. २५ करोड, ३६ लाख, ६७ हजार राजश्व सङ्कलन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष राजश्व सङ्कलनमा प्रगति देखिएको बताउँदै करदाता सेवा कार्यालय लम्कीका प्रमुख सेतबहादुर शाहीले भने, ‘कोरानाका कारण आन्तरिक कारोबारमा बढोत्तरी भएको छ । यसका साथै करदाताको सङ्ख्यामा वृद्धि र गएको आर्थिक वर्षमा कोरोनाका कारण सङ्कलन नभएको कर यस आर्थिक वर्षमा सङ्कलन भएको छ । यसले राजश्व वृद्धिमा सघाएको छ ।’

कार्यालय प्रमुख शाहीका अनुसार, सबैभन्दा बढी आयकर शीर्षकबाट रु. २० करोड ८७ लाख १ हजार राजश्व सङ्कलन भएको छ । मूल्य अभिवृद्धि कर शीर्षकमा रु. १२ करोड ९९ लाख १३ हजार राजश्व सङ्कलन हुँदा अन्तः शुल्क शीर्षकमा रु. तीन करोड ६८ लाख २० हजार जम्मा भएको छ । उनी भन्छन्, ‘करले देश विकासमा सघाउने भएका कारण सबैलाई करको दायरामा आई कर तिर्न अनुरोध गरिरहेका छौँ । यस वर्ष लामो समयसम्म कर नतिरेका नागरिकलाई केही छुट दिएर कर तिर्नसमेत अनुरोध गरेका कारण राजश्व बढेको छ ।’

सरकारले निश्चित वर्षको कर छुट गरेपछि लामो समयदेखि विविध कारणले कर नतिरेका नागरिक करको दायरामा आएका छन् । रासस