ओखलढुङ्गा– जिल्लामा यसपाली वैशाखमा नै पहिरोले वितण्डा मच्चाएको छ ।


ADVERTISEMENT


सामान्यतया असार/साउन महिनामा पहिरोले क्षति गर्ने भए पनि ओखलढुङ्गाको चम्पादेवीमा यस वर्ष वैशाखमै पहिरो गएको हो ।


ADVERTISEMENT

# # #


शनिबार साँझ भएको वर्षापछि आएको पहिराले चम्पादेवी गाउँपालिका–३ सिल्खुबेँसीमा सात चौपाय पुरिएर मरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिएका छन् । प्रहरीका अनुसार, सिल्खुबेँसीका हरिप्रसाद सुवेदीको तीनवटा गाई, मोहन मगरको दुईवटा गोरू र मुनामाया बोगटीको दुईवटा गाई पहिरोमा पुरिएर मरेका छन् ।

सिल्खुमाथि खनेको कच्ची सडक र खहरेमा जम्मा भएको भेल बाढीको रूपमा गएपछि स्थानीयवासीका घर, गोठ र खेत बगाएको हो । सिल्खुको विद्यालय, स्थानीयवासीका घर र कृषिबालीमा समेत क्षति पुगेको छ । अचानक भएको वर्षाका कारण बाढीपहिरो आउँदा पशुचौपाय बगाएको, खेतबारीमा लगाएको बालीमा क्षति भएको भन्दै स्थानीय किसानले क्षतिको यकिन गरेर क्षतिपूर्ति दिन माग गरेका छन् ।

ओखलढुङ्गामा जथाभावी खनिएका कच्ची सडकका कारण पहिरो बगेर वर्षेनी ठूलो जनधनको क्षति हुने गरेको छ । रासस