काठमाडौँ– उपत्यकाको मूलपानीमा कोरोना सङ्क्रमितको उपचारका लागि मूलपानी नगर अस्पताल सञ्चालनमा आएको छ ।


ADVERTISEMENT


कागेश्वरी मनोहरा नगरपालिकाले सञ्चालन गरेको उक्त अस्पतालमा अहिले दश सङ्क्रमितको उपचार भइरहेको नगरप्रमुख कृष्णहरि थापाले जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


कोरोना सङ्क्रमितका बिरामीलाई भर्ना गरी उपचार शुरु गरिएको जानकारी दिँदै उनले सङ्क्रमितको उपचारका लागि आवश्यक परेमा ०१–४१५३५९३ मा सम्पर्क गर्न सकिने बताएका छन् ।

महिनाको रु. एक लाख भाडामा लिएर सञ्चालन गरिएको उक्त नगर अस्पतालमा चारवटा एम्बुलेन्स तयारी अवस्थामा छन् । कोरोना सङ्क्रमित बोक्ने एउटा छुट्टै एम्बुलेन्सको व्यवस्था गरिएको छ । नगर अस्पतालमा अहिले ४० देखि ५० शैय्या प्रयोगमा ल्याउन सकिने थापाको भनाई छ ।

साथै नगरपालिकाभित्र कसैलाई कोभिडको शङ्का लागेमा उपचारका लागि एम्बुलेन्स आवश्यक परे ९८४१६५५६२१ चिरन कटुवाल, ९८६१–६६९३०६ कृष्ण बिसुन्खेलाई सम्पर्क गर्न सकिने जानकारी गराइएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको जनाउँदै नगरप्रमुख थापाले थप सतर्कता अपनाउन अनुरोध समेत गरेका छन् ।

उनले भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न र कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्न आमव्यक्तिमा आह्वान समेत गरे। रासस