फुङ्लिङ– ताप्लेजुङ जिल्लाको राष्ट्रिय वनबाट चालु आर्थिक वर्षमा ३५ हजार किलो धुपीपात संकलन भएको छ । जिल्लाभित्रका विभिन्न क्षेत्रका राष्ट्रिय वनबाट ती वस्तु संकलन गरिएको हो ।


ADVERTISEMENT


हिमाली क्षेत्रमा पाइने धुपीपात प्रत्येक वर्ष संकलन हुँदै आएको छ । प्रतिकेजी रु. दुई का दरले रु ७० हजार राजस्व जिल्ला वन कार्यालयमा जम्मा भएको वन व्यवस्थापन शाखाका एसिस्टेण्ट फरेष्टर सीता योगीले बताएकी छिन् । पूजापाठमा धुपीपात प्रयोग हुँदै आएको छ । धुपीपातबाट औषधिजन्य तेलसमेत निकालेर राम्रो मूल्यमा बिक्री हुने गरेको छ । समुद्र सतहदेखि २५ मिटरसम्मका राष्ट्रिय वनमा प्रशस्त धुपी पाइने गरेको जिल्ला वन कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


कञ्चनजंघा संरक्षण क्षेत्रमा धुपी प्रशस्त भए पनि व्यापारिक प्रयोजनका लागि संकलन हुन नसकेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का लेखाअधिकृत मनकुमार लिम्बूले बताए। यस्तै, विगत वर्षमा संकलन भए पनि चालु आवमा संकलन गरेर संरक्षण क्षेत्र भन्दा बाहिर निकासी नभएको कञ्चनजंघा संरक्षण क्षेत्रका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीको भनाई छ ।

फक्ताङलुङ गाउँपालिका—६ घुन्सामा धुपीतेल उद्योग अहिले बेवारिसे अवस्थामा छ । दुई वर्षसम्म सञ्चालन भएपछि दर्ता प्रक्रिया पूरा हुन नसकेपछि बन्द गर्नुपरेको सञ्चालक पेमा शेर्पा बताउँछन् । घुन्सामा उत्पादन भएको धुपीको तेल काठमाडौँमा प्रतिलिटर रु. तीन हजार ५०० का दरले बिक्री हुने गरेको सञ्चालक शेर्पाले बताए ।

राष्ट्रिय वन संकलित धुपीपात व्यापारीले प्रतिकिलो रु. ६० का दरले खरीद गर्दै आएको मेरिङ्देन गाउँपालिका—५ का धुपीपात व्यापारी रिङ शेर्पाको भनाई छ । उनी भन्छन्, ‘हामी गाउँमा गएर ६० रुपैयाँमा खरीद गर्छौँ । गाउँदेखि सदरमुकाम फुङ्लिङसम्म चौंँरीमार्फत ढुवानी गर्छाै ।’ हिमाली क्षेत्रमा पाइने धुपीपात ताप्लेजुङबाट इलामको पशुपतिनगर हुँदै भारत निकासी हुने व्यापारी शेर्पाले जनाए । नेपाल र भारतको नाका पशुपतिनगरमा प्रतिकिलो रु १६० का दरले खरीद बिक्री हुने व्यापारी उनको भनाई छ ।

उनी भन्छन्, ‘हामीले ताप्लेजुङदेखि इलामको पशुपति नाकाको बजारसम्म पुर्‍याएर त्यहीँका व्यापारीलाई बिक्री गर्छौँ । त्यहाँका व्यापारीले भारतका विभिन्न बजारमा बिक्री गर्छन् ।’ नेपालमा पाइने धुपीपातको माग भारतमा उच्च भएको व्यापारी शेर्पाले बताए। रासस