काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) भित्र आन्तरिक कलह मच्चिएको छ । पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने र ओलीलाई सरकारबाट हटाउने भन्ने विवाद देखिएको हो ।


ADVERTISEMENT


पार्टीमा अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो ओलीलाई समर्थन गर्ने पक्षमा छन् । समर्थनको विश्वास दिलाएपछि ओलीले मन्त्रिपरिषद्बाट निर्णय गराइ जसपाका १२० नेता/कार्यकर्ताको मुद्दा फिर्ता समेत गराइसकेका छन् । जसपाले रेशम चौधरीसहितका नेता/कार्यकर्ताको मुद्दा फिर्ताको माग राखेकोमा मागअनुसार चौधरीबाहेकका १४ मुद्दाका १२० नेता/कार्यकर्ताको मुद्दा फिर्ता लिएको हो । मुद्दा फिर्ताको प्रक्रिया जटिल भएपनि प्रक्रिया पुर्याएर रेशमको मुद्दा पनि फिर्ता लिने आश्वासन सरकारले जसपालाई दिएको जसपाका एक नेता बताउँछन् । जसकारण महन्थ र महतो प्रतिगमन सच्चिएको बताउँदै खुलेरै सरकारको समर्थनको पक्षमा उभिएका छन् ।


ADVERTISEMENT

# # #


यता संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई ओली प्रवृत्तिलाई भष्मासुर प्रवृत्ति भनेर खुलेर लागेका छन् । उनी जसरी पनि ओलीलाई प्रधानमन्त्रीबाट हटाउन चाहन्छन् । उनलाई साथ दिइरहेका छन् अध्यक्ष उपेन्द्र यादवले ।

स्पष्ट दुई पक्षबीच आन्तरिक कलह मच्चिदै जाँदा विवाद पार्टी विभाजनको मार्गतर्फ मोडिएको छ । प्रधानमन्त्री ओलीले बैसाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि महतो र ठाकुर सरकारको समर्थनका लागि कार्यकारिणी सदस्य र सांसदहरूको खाली कागजमा हस्ताक्षर लिन थालेको एक नेताले बताए । उनले भने, ‘खालि कागजमा हस्ताक्षर संकलन गरेर आफू अनुकूल प्रयोग गर्न खोजेको देखियो ।’ उनले पार्टीभित्र विवाद चर्किदै गएकाले पार्टी फुट्ने संकेत देखिएको बताए । महतो र ठाकुरले आफू निकट  सांसद र कार्यकारिणी सदस्यहरुलाई निषेधाज्ञाकै बीच काठमाडौँ बोलाएका छन् । निषेधाज्ञा भएपनि सरकारले नै नेताहरुलाई स्कटिङ गरेर काठमाडौँ ल्याउन सहयोग पुर्याइरहेको एक नेताको आरोप छ ।