म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ८६ वर्षीय वेदप्रसाद उपाध्याय घरबाट बाहिर ननिस्किएको दुई हप्ताभन्दा बढी भयो । त्यसअघि गाउँमा घुमेर खैखबर लिने र दौँतरी तथा छिमेकीहरुसँग गफिएर समय व्यतित गर्ने गरेका उपाध्यायलाई अहिले चौबीसै घण्टा घरभित्र सीमित भएर बस्नु पर्दा निकै सकस भएको छ ।


ADVERTISEMENT


सामाजिक र राजनीतिक काममा निकै व्यस्त रहने गरेका नेपाली कांग्रेस म्याग्दीका सचिव क्याप्टेन मीनबहादुर कार्की पनि एकान्तवास बसेका ठ्याक्कै १० दिन भयो । कोरोनाको लक्षण देखिएपछि गत वैशाख २४ गतेदेखि आफ्नै घरमा एकान्तबास बस्नुभएका क्या कार्कीको स्वाब परीक्षणको रिपोर्ट त नेगेटिभ आयो तर राजनीतिक र सामाजिक काममा सरिक हुने अवस्था भने रहेन ।


ADVERTISEMENT

# # #


उपाध्याय र कार्की मात्रै होइन अहिले म्याग्दीका प्रायः सबै मानिस घरभित्र नै छन् । दोस्रो लहरको नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणबाट जोगिन लामो समयसम्म घरभित्र नै सीमित रहनुपर्दा एकाकी मनस्थिति बनेको धेरैको भनाइ छ ।

“आफ्नै गाउँ टोल नै बिरानो लाग्न थाल्यो, वल्लो पल्लो घरमा रहेका दाजुभाइ, छरछिमेकीको हाल खबर के छ भन्ने बुझ्न पनि फोन गर्नुपर्ने अवस्था आयो,” बगरफाँटका ६५ वर्षीय पदमपाणि शर्माले भने, “बाबु बाजेको पालामा पनि नसुनिएको र आफ्नो बूढेसकालमा पहिलो पटक भोग्नुपरेको यो परिस्थितिको अन्त्य कहिले हुने होला खै ?”

गाउँले जीवनको मौलिकता भनेकै अर्म–पर्म, सरसापटी, अ‍ैँचोपैँचो र झाराश्रमदान हो । प्रत्यक्षरूपमा भेट भएर सुखदुःखका कुरा गर्ने, साह्रोगाह्रो पर्दा सरसहयोग गर्ने, परालबाट बुनेका गुन्द्रीमा बसेर गफिँदै चिया पिउने, जाडोमा पहार ताप्दै र गर्मीमा चौतारी वा शीतल ठाउँमा बसेर घरव्यवहार, छोराछोरीका कुरादेखि लिएर राजनीति हुँदै देशविदेशका विषयमा समेत छलफल र कुराकानी गर्ने ग्रामीण जीवनको विशेषतामय सौन्दर्य अहिले खोसिएको स्थानीय बूढापाकाहरु बताउँछन् ।

अहिलेको अवस्था वाध्यात्मक भएको र आफ्नै सुरक्षाका लागि यो सकस सहनुपरेको पनि उनीहरुलाई राम्रैसँग थाहा छ । “आफ्नै सुरक्षाका लागि हो, कोरोनाको औषधि भने पनि उपचार भने पनि यही सम्पर्कविहीन पद्धति रहेछ, त्यसैले पट्यार लागे पनि, अत्यास लागे पनि सुरक्षित त रहनु नै पर्यो”, स्थानीयवासी खड्गबहादुर थापाले भने, “घरमा बस्दाबस्दा पट्यार त लाग्छ नि, तर के गर्नु यो बाहेक सुरक्षित रहने अर्को उपाय पनि त केही छैन ।”

“खेतबारीमा हरियाली छाएको छ । हावा चल्दा मकैका पात बज्छन् । वन जङ्गलमा कोइली कराउँछ । मकै गोड्ने समय भएकाले खेतमा अलिअलि मात्र खेताला देखिन्छन् । समयसमयमा मोबाइलको घण्टी बज्दा हुने कुराकानी र घरका सदस्यबाहेक अरुसँग प्रत्यक्ष दोहोरो संवाद नभएको धेरै भएको छ”, थापाले भने, “कस्तो समय आयो, आफ्नै गाउँ, आफ्नै ठाउँ र आफन्तहरु नै बिराना पो लाग्न थाले ।”

अहिले म्याग्दीका छ वटै स्थानीय तहमा कोरोना सङ्क्रमण भुसको आगो जस्तै गरी फैलिएको छ । एक लाख १३ हजार जनसङ्ख्या रहेको म्याग्दीमा आइतबार साँझसम्म ४२० भन्दा बढी सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । गण्डकी प्रदेशको ‘हटस्पट’ बनेको म्याग्दीको एउटै बस्तीमा ३५ जनाभन्दा बढी सङ्क्रमित भेटिएपछि स्थिति भयावह बन्दै गएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् ।

वैशाखमा मात्रै म्याग्दीका १६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने आइतबार पोखरामा उपचाररत म्याग्दीका एक व्यक्तिको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

समुदायस्तरमा कोरोना फैलिनुमा विवाह, ब्रतवन्धलगायतका धार्मिक कार्य, मृत्यु संस्कार र ती कार्यमा हुने भीडभाड नै मुख्य कारण रहेको ठहर गरिएको छ । ती कार्यलाई रोक्न वा कम गर्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिसकेको छ । रासस