रोल्पा– कोरोना भाइरसको लक्षण देखिएपछि गत वैशाख ३१ गते रोल्पा अस्पताल भर्ना भएका रोल्पा नगरपालिका­२ सदरमुकाम लिवाङका एक व्यक्तिको अक्सिजनको मात्रा नबढेपछि थप उपचारका लागि जिल्ला बाहिर लैजाने क्रममा बाटैमा मृत्यु भयो ।


ADVERTISEMENT


शव अस्पताल पुर्‍याएका आफन्तहरु लामो समय कुर्दा समेत सरकारी तबरवाट शव व्यवस्थापन गर्नेबारे चासो नदेखाउँदा आफन्तहरुले नै शव व्यवस्थापनका गर्न बाध्य भएको बताएका छन् । यस्तै कोरोना भाइसरका कारण केही दिनअघि मृत्यु भएका सुनिलस्मृति गाउँपालिका­४ का एक पुरुषको आफन्तले नै अन्त्यष्टी गरेका थिए ।


ADVERTISEMENT

# # #


सरकारी तबरबाट शव व्यवस्थापनमा ढिलाइ भएपछि कोरोना सङ्क्रमितको दाहसंस्कार आफन्तबाट हुँदा समुदायमा सक्रङ्क्रमण फैलिने भयले स्थानीयवासी त्रसित देखिएका छन् ।

कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या रोल्पामा बढिरहेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सोमबारसम्म जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । यसरी मृत्यु भएकाहरु मध्ये अधिकांशको अन्त्यष्टी परिवारले नै गर्ने गरेका कारण समुदायमा त्रास फैलिएको हो ।

नातेदार वा छिमेकीको मृत्युपछि दाहसंस्कारका लागि मलामी जानुपर्ने सामाजिक दायित्वका कारण दाहसंस्कारमा समेत जमघट हुने क्रम बढ्दै जान थालेसँगै कोरोनाले महामारी लिने कुराले जनमानसमा भय सिर्जना गरेको छ ।
छिमेकीको मृत्युसँगै अन्त्यष्टीमा उपस्थित भएर फर्किएका रोल्पा नगरपालिका­४ का विनोद आचार्य भन्छन्, ‘कोरोना सङ्क्रमितको परिवारबाट गरिने अन्त्यष्टीले कारोना सङ्क्रमण भयावह हुने देखिन्छ ।’

मृतकको शव परिवारका सदस्यहरुले समेत छुने गर्दा परिवारका सदस्यमा पनि सङ्क्रमणको उच्च जोखिम रहेको उनको भनाइ छ । आफन्तको मृत्युभएपछि एक घण्टा पर्खंदा समेत सेनाको टोली नआएपछि आफूहरुले नै शवको अन्त्यष्टी गरेको रोल्पा नगरपालिका­४ का धनराज डाँगीले बताए ।

कोरोनाबाट अस्पतालमा मृत्यु भएकाहरुलाई प्लाष्टिकले राम्रोसँग मोडेर सङ्क्रमण बाहिर नजाने गरी शवको अन्त्यष्टी गरिनुपर्ने रोल्पा हुन्छ । यसका लागि आफन्त र अस्पतालको समन्वय बिना शवको अन्त्यष्टी गर्ने भन्ने नहुने प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा बताउँछन् । ‘कोभिडका कारण मृत्युभएको सुनिश्चित नभएसम्म सेना जाँदैन’ , उनले भने ।

कोरोनाको पहिलो लहरको बेला सबै शव सेनाले नै अन्त्यष्टी गर्ने नियम भएपनि दोस्रो लहरमा मृतकका आफन्तले अन्त्यष्टी गर्न चाहे उनीहरुलाई दिने नियम रहेको उनको भनाइ छ । रासस