कांग्रेस नेता घर्ती लोकतान्त्रिक गठबन्धन र माओवादी नेता गुरुङ वाम गठबन्धनका साझा उम्मेदवार हुन् । संविधानसभा निर्वाचन २०७० मा यी दुवै नेता प्रत्यक्ष चुनाव लडेनन् । घर्ती समानुपातिकबाट सांसद भए । संविधान निर्माणमा सामेल भए । गुरुङ वैद्य नेतृत्वको नेकपा–माओवादीमा लागेर निर्वाचन बहिष्कार गरे । संविधानसभा निर्वाचन २०६४ मा भने घर्ती लमजुङ क्षेत्र नं २ बाट पराजित भए । गुरुङ मनाङ र कास्की–१ दुई क्षेत्रबाटै सभासद निर्वाचित भए । यसपालि संघीय संरचनाले यी दुई नेतालाई सँगै चुनाव लड्न जुराइदिएको छ । घर्ती र गुरुङ दुवै आदिवासी जनजाति हुन् तर कहिल्यै जनजातिका मुद्दा नबोकेको आरोप दुवैमाथि लाग्दै आएको छ ।


ADVERTISEMENT


जिल्लामा घर्तीको अलोकप्रियता र गुरुङ बेजिल्लाका भएकाले प्रतिनिधिसभा चुनाव यी दुवैका लागि अग्निपरीक्षा झैं बनेको विश्लेषण छ । चुनाव भने दुवैले जित्ने दाबी गरिरहेका छन् । मतदाताले आफ्नै जिल्लाकालाई जिताउनेमा घर्ती आशावादी छन् । ‘आफ्नै जिल्लाले आफ्नै जिल्लाकालाई भोट दिने भएकाले मेरो जितलाई कसैले रोक्न सक्दैन,’ उनी भन्छन् । गुरुङ भने दुवै वाम पार्टीका मतले जित्ने दाबी गर्छन् । ‘स्थानीय चुनावको पहिलो र तेस्रो पार्टीको साझा उम्मेदवार भएकाले मेरो जितलाई कसैले रोक्न सक्दैन,’ गुरुङले भने । निर्धक्क भने दुवै देखिँदैनन् ।


ADVERTISEMENT

# # #


संविधानसभा निर्वाचन ०७०, क्षेत्र नं. १ मा एमालेका प्रत्यक्ष उम्मेदवारले ११ हजार ३ सय ९ र कांग्रेस उम्मेदवारले १० हजार ४ सय ११ मत पाएका थिए । एकीकृत माओवादी उम्मेदवारले ६ हजार ३ सय ५५ र राप्रपाका उम्मेदवारले २ हजार २ सय ५३ पाएका थिए । अन्य ६ उम्मेदवारले १ हजार ५ सय ३६ मत पाएका थिए । एमाले र माओवादीको जोडदा १७ हजार ६ सय ६४ मत हुन आउँछ । कांग्रेस र राप्रपाको जोडेर १२ हजार ६ सय ६४ र अन्यको १ हजार ५ सय ३६ समेत जोडदा १४ हजार २ सय हुन आउँछ । क्षेत्र नं। २ मा कांग्रेस उम्मेदवारले १४ हजार ७ सय ६५ मत पाएका थिए भने एमाले उम्मेदवारले १४ हजार ९३ । माओवादी उम्मेदवारले ५ हजार २ सय ९५ मत ल्याएका थिए । अन्य राजनीतिक दलले १ हजार ५ सय कटाएनन् । यसमा एमाले–माओवादीको १९ हजार ३ सय ८८ र कांग्रेससहित अन्य दलको १६ हजार २ सय ६५ मत हुन आउँछ । दुवै गर्दा एमाले–माओवादीको पक्षमा ३७ हजार ५२ र कांग्रेसलगायतको पक्षमा २८ हजार ९ सय २९ मत परेको थियो ।

जिल्लामा ४ नगर र ४ गाउँपालिका गरी ८ स्थानीय तह छन् । स्थानीय तह निर्वाचनमा देशभर कांग्रेस–माओवादी केन्द्र गठबन्धन भए पनि लमजुङमा एमाले–माओवादी केन्द्र गठबन्धन भएको थियो । यसैलाई आधार मानेर अहिले एमाले–माओवादी गठबन्धन भएको कतिपयले बताउन थालेका छन् । एमालेले ५ प्रमुख तथा अध्यक्ष र माओवादी केन्द्रले ३ प्रमुख तथा उपप्रमुख साथै एमालेले ५ उपप्रमुख तथा उपाध्यक्ष र माओवादी केन्द्रले ३ उपप्रमुख तथा उपाध्यक्षमा सहमति गरेर चुनाव लडेका थिए । दूधपोखरीमा कांग्रेस उम्मेदवारसँग गठबन्धनका अध्यक्षरउपाध्यक्ष नै पराजित भएका थिए ।

गठबन्धनबाट २ तहमा अध्यक्ष र ३ तहमा उपाध्यक्षका उम्मेदवार पराजित भएका थिए । लमजुङ प्रदेशसभा ‘क’ मा गठबन्धनबाट एक अध्यक्ष र दुई उपप्रमुख पराजित भएको थियो । प्रदेशसभा ‘ख’ मा एक प्रमुख र एक उपप्रमुख गठबन्धनका उम्मेदवार पराजित भएका थिए । जिल्लामा १ लाख १५ हजार ४ सय ४९ मतदाता छन् । स्थानीय तह चुनावमा १ लाख ५ हजार ९ सय ९२ थिए । – आजको कान्तिपुरबाट