बलेवा– कोरोनाको सङ्क्रमण भुसको आगो झैँ सल्किएपनि नगरपालिकाले पिसीआर गर्ने काममा अझै आलटाल गरिरहेको स्थानीयले आरोप लगाएका छन् ।


ADVERTISEMENT


पटकपटकका दबाबपछि बागलुङको ढोरपाटन नगरपालिकामा गरिएको केही परीक्षणमा ८० प्रतिशतसम्म सङ्क्रमित भेटिए पनि जनप्रतिनिधिले अझैपनि चासो नदेखाउँदा गाउँमा सङ्क्रमण फैलिन सक्ने भन्दै स्थानीयवासी चिन्तित बनेका छन् ।


ADVERTISEMENT

# # #


नगरपालिकामा तत्कालीन गाविस अध्यक्षसहित चार जनाको कोरोनाका कारण मृत्यु भैसकेको छ । पालिकामा भएको भिटिएम पनि प्रयोगमा आई नसकेकाले परीक्षणको दायरा बढाउन नसकिएको स्वास्थ्य शाखाका प्रमुख घनश्याम चालिसेले बताएका हुन् । पालिका तहबाट वडा नं. ९ को केही स्थानमा मात्रै परीक्षण भएको छ ।

नगरपालिकाको चासो नदेखाएपछि वडा नं ४ ले आफ्नै पहलमा परीक्षण थालेको जनाएको छ ।‘समयमा परीक्षण नगर्दा गम्भीर बिरामी भएपछि मात्रै अस्पताल आउनेहरुले ज्यान गुमाइरहेका छन्’, स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरे भन्छन्,‘घर-घरमा रोगको भयावह अवस्था छ, त्यो खोजी हुन सकेको छैन ।’

गत वैशाख पहिलो सातादेखिको निशेधाज्ञा पालना नहुँदा सङ्क्रमण फैलिएको स्वास्थ्यकर्मीको टिप्पणी छ । ‘विवाह भोजले गाउँ तहसम्म सङ्क्रमण फैलियो, अहिले शङ्कास्पद सङ्क्रमितको मलामी पनि उत्तिकै भीड छ’, बडिगाड गाउँपालिकाको स्वास्थ्य प्रमुख चुडामणी कँडेलले भन्छन्, ‘सयौं सङ्क्रमित थपिने खतरा बढिरहेको छ ।’ अझै पनि पालिका तहबाट परीक्षणको दायरा बढाउने कुरा नचलेको उनले टिप्पणी गरे ।

यस्तै, परीक्षण गर्ने र सङ्क्रमितलाई अलग नगरेसम्म महिनौ निशेधाज्ञा लगाएपनि नियन्त्रण नहुने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौको भनाई छ ।

जिल्लामा बिहीबारसम्म एक हजार सक्रिय सङ्क्रमित पुगिसकेका छन् । परीक्षण गरिएकामध्ये ६० देखि ८० प्रतिशतसम्म सङ्क्रमित भेटिएका छन् । रासस