अस्पतालबाट निस्किने फोहोर सही ढंगले व्यवस्थापन हुन नसक्दा समस्या उत्पन्न भएको छ । सिरिन्ज, निडिलजस्ता प्लास्टिक तथा धातुजन्य फोहोर मेसिनले टुक्र्याएर जलाउने वा गाड्नुपर्ने भए पनि अस्पतालहरूले नगरपालिकाको कन्टेनरमा हालेर पठाउने गरेका छन् ।


ADVERTISEMENT


सिरहाका मुख्य बजारहरू सिरहा, मिर्चैया, गोलबजार, धनगढी र लहानमा रहेका सरकारी र निजी अस्पताल, पोलिक्लिनिक र साना क्लिनिकको संख्या एक सय ५० भन्दा बढी छ । यी स्वास्थ्य संस्थाबाट निस्किने फोहोरको उचित व्यवस्थापन हुन नसक्दा वातावरण प्रदूषित बन्न थालेको छ । यसबाट मानव स्वास्थ्यमा गम्भीर असर पर्ने चिकित्सकहरू बताउँछन् ।
सिरहाका स्वास्थ्य संस्थाहरूबाट सातामा करिब एक टन फोहोर निस्कन्छ । सरकारी र निजी दुवै प्रकारका स्वास्थ्य संस्थाबाट निस्किने फोहोर नदीमा फाल्ने काम हुँदै आएको छ । गोलबजारका अस्पतालले गागन र मैनाबत्ती नदीमा, लहानका अस्पतालले बलान तथा खुट्टी नदीमा र मिर्चैयाका अस्पतालले जिवा र बतहा नदीमा फाल्ने गरेका छन् ।
केही अस्पतालले नालीमा पनि फोहोर विसर्जन गर्ने गरेका छन् । लहानस्थित आदित्य मेडिकल केयर सेन्टरले नालीमै फोहोर फाल्छ । कतिपय अस्पतालले खुला ठाउँमै जलाएर नष्ट गर्ने गरेका छन् ।


ADVERTISEMENT

# # #


लहान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनील कुसवाहा भन्छन्, ‘चिकित्साजन्य फोहोर निर्मलीकरण गरेर खाडलमा पुुर्नुुपर्ने कानुनी व्यवस्था छ । भट्टी बनाएर जलाउनुपर्छ । अन्यथा वातावरणमा संक्रमण फैलिन्छ ।  मानवलाई मात्र होइन, वातावरणलाई नै असर गर्ने भए पनि अस्पतालले यसलाई बेवास्ता गरेको उनको भनाइ छ । सिरहाका कुनै पनि अस्पतालमा फोहोर जलाउने भट्टी छैन ।