काठमाडौँ – नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा सकिएको छ । संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपति भण्डारीले गरेको आह्वान सकिएको हो ।
यससँगै नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता केपी ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी पेस गरेका छन् । ओलीले नेकपा एमालेका १२१ र जसपाका ३२ जना सांसद हस्ताक्षरसहितको दाबी प्रस्तुत गरेका छन् ।
यस्तै देउवाले कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित) र जसपाका १२ सांसद गरी १४९ जनाको हस्ताक्षरसहितको दाकी पेश गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्माओलीले गत वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत गुमाएर पदमुक्त भएका थिए । तर, विपक्षीहरु गठबन्धनको सरकार बनाउन असफल भएपछि धारा ७६(३)अनुसार प्रधानमन्त्रीमा उनी पुनः नियुक्त भएका थिए ।
तर, बिहीबार ओलीले संसदमा विश्वासको मत नलिने र नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने निर्णय गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी थिइन् । राष्ट्रपतिले दिएको समयसीमा अहिले ५ बजे सकिएको हो । ।