काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता शंकर पोखरेलले नेपाली राजनीति जटिल मोडतर्फ गएइरहेको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा पार्टीभित्र र बाहिरका शक्तिहरु जसरी एक ठाउ उभिएका छन् त्यसले विकल्प र समाधान दिने अपेक्षा र विश्वास आम मानिसको नरहेको जिकिर गरेका छन् । मानिसहरुले अहिलेको विवादलाई कुर्सीको लुछाचुडीका रुपमा मात्र बुझे पनि अनि अत्तालिएका प्रतिपक्षीहरु विरोधका नाममा प्रणालीलाई नै कमजोर बनाउन उद्दत देखिएको उनले बताएका छन् ।
देश फेरि एकपटक वहुआयामिक द्वन्द्वको शिकार बन्न पुग्ने आशंका गर्दै उनले विगतमा गिरिजा प्रसादको विरोध गरे पनि राजनीति ट्रयाकमा ल्याउनका लागि गिरिजाकै खोजी गर्नुपरेजस्तै भविष्यमा संकट समाधानका लागि ओलीको नै खोजी गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताएका छन् ।
उनले भनेका छन्, ‘ विगतमा गिरीजाको खोजी भएजस्तै भविष्यमा उत्पन्नहुने संकटको समाधानका लागि केपीशर्मा ओलीको खोजी गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।’ अनुशासन र संसदीय प्रणालीका विरुद्धको कदमले अन्ततः व्यवस्थालाई नै कमजोर बनाउने बताउँदै उनले विगतका इतिहासबाट शिक्षा लिएर अघि बढ्न आग्रह गरेका छन् ।