श्याम ठाकुर
सिरहा – कोरोना महामारीका वेला सिराहाको मिर्चैया नगरपालिका ५ स्थित मुसहर बस्तीमा रुघाखोकी र ज्वरोको प्रकोप फैलिएको छ ।


ADVERTISEMENT


ज्वरो र रुघाखोकीले थलिए पनि स्वास्थ्यचौकीमा जचाउन जाँदा कोरोना संक्रमण हुन सक्ने त्रासले बिरामीहरू गाउँमै बसिरहेका छन् ।


ADVERTISEMENT

# # #


४० घर परिवार रहेको यो दलित बस्तीमा पछिल्लो सातादेखि फैलिएको ज्वरोको प्रकोपले गर्भवती, सुत्केरी, बालबालिका, वृद्धवृद्धा बिरामी परेका छन् । घरमा काम गर्न सक्ने जति सबै ज्वरोले थलिएका छौँ, स्थानीय कारी सदाले भनिन्, स्वास्थ्यचौकी जान सकेका छैनौँ, स्वास्थ्यकर्मी गाउँमा आउँदैनन् ।

उनले दलित बस्तीका अधिकांशमा टाउको दुख्ने, ज्वरो आउने र खोकी लाग्ने समस्या देखिएको बताइन् । तर, कोरोनाको आशंकामा प्रहरीले समातेर पो लग्ने हो कि भन्ने डरले उनीहरु खुल्न मानेका छैनन् ।

नगरपालिकालाई जानकारी गराएपनि नगरपालिका र स्वास्थ्य शाखाले कुनै चाँसो नदेखाएको वडा सदस्यसमेत रहेकी स्थानीय पानो सदा बताउँछिन् । स्वास्थ्य चौकीमा गएपनि घरमै बस्न भनेर र कुनै औषधिसमेत नदिएर फर्काइदिने गरेको स्थानीयको गुनासो छ ।

मजदुरी गरेर जीविका चलाउँदै आएका बस्तीका मानिस विभिन्न स्थास्थ्य समस्याले थलिएपछि चुलो बाल्नसमेत अप्ठ्यारो परिरहेको उनीहरुले बताए । बस्तीमा ज्वरोको प्रकोप फैलिएर काम गर्न सक्नेजति थलिएपछि बिहान–बेलुका हातमुख जोड्न पनि गाह्रो परिरहेको स्थानीय कारी सदाले बताइन् ।

कोरोनाको दोश्रो लहर नियन्त्रणका लागि जिल्लामा निषेधाज्ञा जारी हुँदा विपन्नलाई हातमुख जोर्न समस्या भएपनि स्थानीय सरकार भने गैरजिम्मेवार देखिएका छन् ।