वैजयन्ती शर्मा/काठमाडौँ – निषेधाज्ञाका कारण देश बन्दाबन्दीको अवस्थामा छ । यस्तो बेला समय कटाउने सबैभन्दा बढी आकर्षण बढेको चलचित्र क्षेत्रमा हो । विश्वभरका राम्रा चलचित्र हेर्ने क्रम बढ्दो छ । भारतीय लगायतका अन्य चलचित्रबाट कथा चोरी गर्ने र क्षणभंगुरतामा रमाउने नेपाली चलचित्रकर्मीको आदतले गर्दा धेरै दर्शक नेपाली फिल्मप्रति त्यति चाख दिँदैनन् । तथापि, नेपाली चलचित्र क्षेत्रलाई नयाँ दिशा दिने गरी चलचित्र नबनेका भने होइनन् । आउनुहोस् यो निषेधाज्ञाकाबीच हेरौँ केही राम्रा नेपाली चलचित्र ।


ADVERTISEMENT


बलिदान


ADVERTISEMENT

# # #


मार्क्सवादी विचारधारामा बनेको यो चलचित्रले तत्कालीन पञ्चायती व्यवस्थाविरुद्धको विषयवस्तुलाई समेटेको छ । मोदनाथ प्रश्रितको लेखन तथा तुलसी घिमिरेको निर्देशनमा वि.स. २०५४ सालमा बनेको यो चलचित्र त्यो समयमा नेपाली चलचित्रलाई यसरी पनि चलचित्रको कथा समेट्न सकिन्छ भनेर पाठ पढाउने चलचित्र हो । चलचित्रमा हरिबंश आचार्यको क्रान्तिकारी भूमिका शानदार देखिन्छ भने मदन कृष्ण श्रेष्ठ, नीर शाह लगायतका कलाकारको भूमिका पनि उत्तिकै सम्झिनलायक देखिन्छ । यसको विषयबस्तु त बलियो छ नै यसमा रहेका ‘हाम्रो नेपालमा…’, ‘गरीबको चमेली बोल्दिने कोही छैन…’ लगायतका गीत अहिलेको राजनीतिक परिदृश्यमा पनि उत्तिकै सशक्त छन् ।

बधशाला

तत्कालीन विद्रोही पक्ष (माओवादी) र नेपाली सेनाबीचको द्धन्दका क्रममा जेल परेका केही विद्रोहीको कथा हो बधशाला । द्धन्द र संघर्षको कथा समेटिएको यो चलचित्र इतिहासको सशक्त दस्ताबेज मान्न सकिन्छ । मनोज पण्डितको लेखन र निर्देशनमा बनेको यो चलचित्रमार्फत सौगात मल्ल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा लगायतका कलाकारले आफूलाई राम्रो कलाकारको रुपमा प्रमाणित गरेका छन्, कलाकारलाई कथाअनुसार निर्माण गर्न सक्ने सक्षम निर्देशक रुपमा परिचित निर्देशक पण्डितको मिहिनत यसमा देख्न सकिन्छ । नेपाली सेनाको पोशाक लगाएको भन्दै रक्षा मन्त्रालयले यस चलचित्रको प्रदर्शनीमा रोक लगाएको थियो ।

दासढुङ्गा

मनोज पण्डितकै लेखनमा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुङ्गा दुर्घटनाको रहस्यलाई समेटेर बनेको चलचित्र हो दासढुङ्गा । नेपाली चलचित्रा पण्डित पीडित निर्देशक हुन्, बधशाला जस्तै यो चलचित्र पनि प्रदर्शनीमा रोक लगाइएको थियो भने यसको सिरिज बनाउनै रोक लगाइयो । चलचित्रमा प्रहरीको भूमिकामा देखिएका अनुप बरालले यस घटनाको अनुसन्धान गरेको देखाइएको छ । ड्राइभर अमर लामाको चरित्र निभाएका दयाहाङ राईको भूमिका यसमा अमर देखिन्छ । चलचित्रमा विभिन्न घटनाक्रमको मोड लिन्छ, नेपाली राजनीतिप्रति अलिक चासो राख्ने व्यक्तिलाई आधाभन्दा पछिबाट चलचित्रमा केही समस्या देखा पर्छन् । तर अन्तमा प्रहरीलाई सिजोफ्रेनिया नामको गम्भीर मानसिक रोगको शिकार भएको रुपमा चित्रण यस चलचित्रमा गरिएको छ । समग्रमा राजनीतिक मुद्दालाई लिएर बनाइएको यो चलचित्र नेपाली चलचित्रमा सम्झिनयोग्य चलचित्र हो । कुमार भट्टरराईको निर्देशनमा यसैको सिरिज बनाउने प्रयास निर्माता अपिल विष्टले गरेपनि सिरिजमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, राजनीति र दुर्घटनालाई समेटन् खोजेका थिए । तर सरकारले निर्माण पूर्व नै यसको कथामा सेन्सर लगाउन खोजेपछि चलचित्र बन्न सकेन । मदन भण्डारीकी पत्नी विद्यादेवी राष्ट्रपति भएको समयमै चलचित्रमा सरकारी हस्तक्षेप हुनुका कारण पनि यो घटना सम्झनयोग्य छ ।

टलकजंग भर्सेस टुल्के

टलकजंग भर्सेस टुल्के नेपाली चलचित्र क्षेत्रमा बलियो धावा बोलेको चलचित्र हो । परम्परागत विषयवस्तुभन्दा भिन्न यो चलचित्रले जनयुद्धताकाको कुनै सामान्य गाउँ र त्यहाँका मान्छेहरुको यथार्थता बोलेको छ । गाउँको मुखियाले गर्ने शोषण, एउटा सामान्य मान्छे जसको जीवनमा आएका परिवर्तन र परिवर्तनपछि समाजले हेर्ने नजरिया लगायतका विषयवस्तु यसमा मिहीन ढंगले केलाएको देखिन्छ । विश्वप्रसिद्ध चिनियाँ लेखक लु शुनको कथा ‘आहक्युँको साँचो कथा’लाई आधार बनाएर बनाइएतापनि यसमा हाम्रो समाजको माटो र पानीको गन्ध मिसिएको देखिन्छ । खगेन्द्र लामिछानेको स्क्रिप्टमा निश्चल बस्नेतले निर्देशन गरेको यो चलचित्रमा खगेन्द्र, प्रकाश घिमिरे, ऋचा शर्मा, रविन्द्रसिँह बानियाँ, सुदाम सिके, दयाहाङ राई, बुद्धि तामाङ लगायतका कलाकारको भूमिका जब्बर देखिन्छ ।

पशुपतिप्रसाद

दीपेन्द्र के खनालको लेखन तथा निर्देशनमा बनेको पशुपति प्रसाद नेपाली सिनेमा क्षेत्रको ऐतिहासिक दस्ताबेज हो । केही राम्रा फिल्म बनिरहेतापनि समग्र नेपाली फिल्म ‘अल्छी जागिरे’ जस्ता कलाकार, लेखक र निर्देशकले धानेको समयमा यो चलचित्रले नेपाली चलचित्रलाई केही पाठ पढाएको देखिन्छ । सिन्धुपाल्चोकका पशुपतिप्रसाद बाको ५० हजार ऋण तिर्न कामको सिलसिलामा मितबालाई खोज्दै काठमाडौँ आएपछि उक्त पात्रले गरेका संघर्ष यसमा देखाइएको छ । यो चलचित्रको सबैभन्दा बलियो पक्ष पात्रहरुमा आइरहने परिवर्तित व्यवहार र चिन्तन हो, जुन सामान्यतया प्राय यथार्थमा देख्न सकिन्छ । शुरुदेखि राम्रो देखिएका सुन व्यापारीमा होस् वा शुरुदेखि भिलेनको रुपमा देखिएर दुःख दिइरहेको भष्मे डनमा आएको परिवर्तन, यो आफैमा बलियो विषयवस्तुका रुपमा देखिएको छ । चलचित्र हेरिसकेपछि यसका हरेक पात्रको चरित्रले नराम्रोसँग हिर्काउँछन् । चलचित्रमा खगेन्द्र लामिछाने, प्रकाश घिमिरे, विपिन कार्की, रविन्द्रसिँह बानियाँ, मिश्री थापा र वर्षा सिवाकोटीको भूमिका रहेको छ ।

मुकुण्डो

जतिबेला नेपाली चलचित्रको कुनै वजन थिएन त्यो समयमा विश्वमा नेपाली चलचित्रलाई चर्चामा ल्याउने चलचित्र हो मुकुण्डो । छिरिङ रितार शेर्पाको निर्देशनमा बनेको यो चलचित्र नेपाली चलचित्रमा आफ्नै हस्ताक्षर छाड्ने बलियो हो । गौरी मल्ल, मिथिला शर्मा र रतन सुवेदी चरित्र वरिपरि घुमेको यो चलचित्र नेपाली समाजको यथार्थ कलात्मक कथा हो । यसमा आवश्यक विषयलाई मात्र संवाद दिइएको छ भने अन्य थुप्रै कुरा विम्वबाट भन्न खोजिएको छ, जुन हालसम्म पनि नेपाली चलचित्रमा त्यति प्रयोग नहुने तर विश्व चलचित्र क्षेत्रमा तथा साहित्यमा देखिने कथा प्रस्तुतिको शक्तिशाली तरिका हो । नारी यौन मनोविज्ञान मुख्य विषय रहेको यो चलचित्र सन् २००० मा बनेको हो, जसलाई हालै युट्युबमा पनि राखिएको छ ।

नुमाफुङ

सन् २००४ मा बनेको यो चलचित्र नेपाली चलचित्र नेपाली विषयवस्तुलाई लिएर बनाइएको अर्को दमदार चलचित्र हो । सुदूरपूर्व पान्थरको नागी गाउँको कथाका रुपमा प्रस्तुत गरिएको यो चलचित्र लिम्बु समुदायभित्रको घटनाप्रधान चलचित्र हो । लिम्बु समुदायभित्रको समस्याग्रस्त संस्कृतिलाई उजागर गरेको यो चलचित्र काजिमान कन्दङ्वाकृतको कथा ‘कारोवार की घरबार’ लाई लिएर नबीन सुब्बाले निर्देशन गरेका हुन् ।

कागबेनी

पहिलोपटक डिजिटल प्रविधिबाट निर्माण गरिएको कागबेनी ‘आर्ट सिनेमा’का सौखिनका लागि तराईँको खडेरीका बीच खानासँग दही खाए जस्तो स्वादिष्ट छ । सन् २००८ मा भूषण दाहालले निर्देशन गरेको यो चलचित्रको कथा डब्लू डब्लू जेकबको ‘द मंकी प’ कथामा आधारित छ । एउटा जोगीबाट चलचित्रको कृष्ण पात्रले मायावी बाँदरको पंजा उपहारमा पाउँछ । उक्त पंजा उपहारमा पाएपछि ठीकठाक चलिरहेका जिन्दगीहरुमा आएका अवरोहरुलाई चलचित्रा देखाइएको छ । निमा रुम्बा, सौगात मल्ल र दिया मास्केको मुख्य भूमिका रहेको यो चलचित्रमा तिनै पात्रको चरित्रले फिल्म हेरिसकेपछि सम्म मस्तिष्कमा हिट गरिराख्छ ।

झोला

कृष्ण धरावासीको ‘झोला’ कथामा आधारित चलचित्र झोलाले एक सय वर्षभन्दा अघिको कथा बोलेको छ । लोग्ने मरेपछि लोग्नेसँगैँ चितामा पत्नीले पनि जल्न पर्ने हिँस्रक कुरिति ‘सतिप्रथा’ मुख्य विषय रहेको यो चलचित्रमा आफूभन्दा दोब्बर बढी उमेरका श्रीमानको सेवा मात्र गर्नु र उनको मृत्यु भएपछि उनीसँगैँ जलेर मर्नुपर्ने महिलाको कथा यसमा समेटिएको छ । कुनै कथा÷उपन्यासमा आधारित रहेर चलचित्र निर्माण गर्दा अधिकांश नेपाली चलचित्रले न्याय गर्न नसकेको आरोप लाग्ने गरेकोमा यादव कुमार भट्टराईको निर्देशनमा बनेको यो चलचित्रले कथालाई पनि उत्तिकै न्याय गरेको छ । गरिमा पन्तको मूलचरित्र रहेको यो चलचित्रमा उनको भूमिका सम्झनयोग्य छ ।

बाशुदेव

डा. ध्रुवचन्द्र गौतमको उपन्यास कट्टेल सरको चोटपटकमा आधारित रहेर २०४१ सालमा प्रदर्शनमा आएको चलचित्र हो बाशुदेव । नीर शाहको निर्देशनमा बनेको यस चलचित्रमा सँधैँ शिर उचो राखेर हिँड्ने आदर्शवान पात्र बाशुदेव कट्टेल सरको वरिपरि कथा घुमेको छ । लोभ र लालचबाट टाढै रहने बाशुदेवलाई बारम्बार कुमार भन्ने पात्रले दुःख दिइरहन्छ । यही सेरोफेरोमा बनेको चलचित्रले कट्टेल सरका चोटपटकहरुलाई देखाएको छ । कथामा बाशुदेव कट्टेलको भूमिका निभाएका हरिहर शर्मासँगैँ उत्तिकै तारिफयोग्य भूमिका कुमार नामक खलपात्रको देखिएका नीर शाहको पनि देखिन्छ । यसका साथै विद्यार्थीका रुपमा रहेका हरिबंश आचार्यको भूमिका अझैँ पनि उत्तिकै सम्झिने गरिएको छ ।