काठमाण्डौं-  मोरङको केरावारी गाउँपालिका ६ मा आफ्नै मामाले खुकुरी प्रहार गरेर बालिका भान्जीको हत्या गरेका छन् । ३४ वर्षीय भक्तशेर लिम्बूको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी ११ वर्षीया सञ्चिता लिम्बूको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा बुधबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले बताए । पाँचथरको लिम्बा ७ घर भएका भक्तशेर तिहारमा केरावारी ६ स्थित दिदीको घरमा पाहुना आएका थिए । आफ्नै दिदीको घर भित्र भान्जीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


मंगलबार रातिदेखिनै घर भित्रै भान्जीलाई बन्धक बनाएर राखेका भक्तशेरले बुधबार दिउँसो तीन बजे टाउकोमा खुकुरी हानेको प्रनि कटुवालले बताए । अघिल्लो रातिदेखि नै घर भित्र बन्धक बनाएर राखेको रहेछ, उनले भने, ‘स्थानीय बासिन्दा र प्रहरी भेला भएर बन्धक बनाइएकी बालिकाको उद्धार गर्न खोज्दै गर्दा लिम्बूले एक्कासी खुकुरी प्रहार गरेको देखिन्छ । भान्जीलाई नियन्त्रणमा लिएर घरभित्र बन्धक बनाएर राखेको थाहा पाएपनि भक्तशेरका दिदी भिनाजुले भने उनलाई भूत लागेको र भूतले छाडेपछि भान्जीलाई छाडिदिन्छ भनेर बुधबार बिहानसम्म पर्खिएको प्रहरीले जनाएको छ। तर बिहान सम्म पनि नछाडेपछि दिदी भिनाजुले स्थानीय बासिन्दा र प्रहरीलाई खवर गरेका थिए।
घर फुटाएर स्थानीय र प्रहरीले बालिकाको सकुशल उद्धार गर्न खोजे पनि सम्भव नभएको प्रनि कटुवालले बताए। उनका अनुसार घर वरपर होहल्ला सुनेपछि खुकुरी प्रहार गरेर भान्जीलाई घाइते बनाएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार भान्जीलाई बन्धक बनाएर राखेका भक्तशेरले छुटाउनका लागि कोही आएमा छुटाउन खोज्नेलाई मारिदिने धम्कीसम्म दिएका थिए।
हत्यामा संलग्नलाई प्रहरीले बुधबार राति नै नियन्त्रणमा लिएको छ। भक्तशेरले भान्जीलाई बन्धक बनाएर हत्या गर्नुको कारण थाहा नभएको प्रहरीले जनाएको छ। बालिकाका बुवा आमाले यस अघि पनि पाहुना आउँदा भक्तशेरले यस्तै खाले अनौठो व्यवहार देखाउने गरेको जानकारी प्रहरीलाई दिएका छन्। परिवारका सदस्यले भूत लागेको भनेर उनको व्यवहार प्रति चासो नदिँदा भक्तशेरले ज्याननै जाने घटना घटाएको कटुवालको भनाइ छ।
‘भान्जीलाई अघिल्लो दिनदेखि बन्धक बनाएर राखेको कुरा उसले स्वीकार गरेको छ । कटुवालले भने, ‘बन्धक बनाएर राखेको भन्दै गाउँले भेला भएको थाहा पाएपछि खुकुरी नै हानेको बयान प्रहरीलाई दिएको छ। उनका अनुसार भक्तशेरको मानसिक सन्तुलन ठिक नभएको हुन सक्छ। गाउँलेले आफूलाई मार्न खोजेका कारण भान्जीलाई खुकुरी हानेको भक्तशेरले प्रहरीलाई बताएका छन् । -आजको अन्नपूर्णबाट


ADVERTISEMENT

# # #