महोत्तरी– आफ्नै बस्तीमा नयाँ स्वास्थ्यचौकी भवन बनेर चाँडै सेवा सञ्चालन हुने कुराले महोत्तरीको मटिहानी नगरपालिका–३ वरदाहाका मुस्लिम महिलाले सहज स्वास्थ्य सेवा पाउने आश सँगालेका छन् ।


ADVERTISEMENT


नजिकमा स्वास्थ्य परामर्श र सेवा लिन नपाउँदा कष्ट सहँदै घरमै बस्दै आएका मुस्लिम महिलालाई आफ्नै बस्तीमा आधुनिक सुविधासहितको स्वास्थ्यचौकी भवन बनेर अब सेवा सञ्चालन हुने भएपछि उनीहरुमा यस्तो आश पलाएको हो ।


ADVERTISEMENT

# # #


सामान्यतया घर वरपरबाट बाहिर ननिस्कने मुस्लिम महिला अब आफ्ना स्वास्थ्य समस्या घर नजिकै बनेको स्वास्थ्यचौकीमा पुगेर परामर्श र उपचार सेवा लिन पाइने कुराले खुशी छन् । ‘हमरासभक बेटी पुतो ओतेक बाहर नई जाइछै’, (हाम्रा छोरीबुहारी सामान्यतया बाहिर जाँदैनन्) बस्तीकी ६० वर्षीया मुकिमा खातुनले भनिन्, ‘आब अपने ठाम अस्पताल (स्वास्थ्यचौकी) बैनगेल, निक भेल’ (अब आफ्नै बस्तीमा अस्पताल बन्यो, राम्रो भयो) । नयाँ बनेको स्वास्थ्यचौकीमा सुत्केरी (प्रसूति) सेवा सञ्चालन गर्नसके आफ्नो बस्तीलाई निकै राहत हुने मुकिमाको आश छ ।

मुस्लिम बस्तीका महिला स्वास्थ्य उपचार र परामर्श सेवा लिन टाढा ननिस्कने र सामान्य स्वास्थ्य समस्या समयमा उपचार नपाएर ज्यानै जानेसम्मको अवस्था बुझेर आधुनिक सुविधासहितको स्वास्थ्यचौकी भवन बनाइएको मटिहानी नगरपालिकाले जनाएको छ । आधुनिक ल्याव सेवाका लागि उपकरणसहितको छुट्टै कोठा, परामर्शकक्ष र उपचारकक्ष रहेको नयाँ भवन ३७ लाखको लागतमा निर्माण सम्पन्न भएको नगरपालिका कार्यालयका इञ्जिनीयर विमलेश साहले जानकारी दिए ।

नयाँ स्वास्थ्यचौकी भवनबाट असार पहिलो सातादेखि सेवा सञ्चालन हुने भएको छ । ‘हामीले दक्ष स्वास्थ्यकर्मी परिपूर्ति गर्न प्रक्रिया अघि बढाएका छौं, असार पहिलो साताभित्रै सेवा सञ्चालन हुन्छ’, नगरप्रमुख हरिप्रसाद मण्डलले भने, ‘अब मुस्लिम बस्तीका महिलाले कष्ट खपेर स्वास्थ्य समस्या झेली रहनुपर्ने अवस्था अन्त्य गर्दैछौं ।’ महिला र आम गरिब जो उपचार सेवा लिन टाढा जान सक्दैनथे, उनीहरुको स्वास्थ्य सेवामा पहुँच बढाउन स्वास्थ्यचौकी बनाइएको उनको भनाइ छ ।

मुस्लिम बस्तीमा परिवार नियोजन स्वास्थ्य सेवाबारे सचेतना नहुँदा कम समयको फरकमा धेरै बच्चा जन्माउनु परेर महिला बढी स्वास्थ्य समस्यामा पर्ने गरेका स्वास्थ्यकर्मीको ठहर छ । अब नयाँ भवनमा सञ्चालन हुने सेवामा परिवार नियोजन परामर्श, उत्प्रेरणा र यससम्वन्धी सेवा पहुँच बढाउन आवश्यक रहेको स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले बताए । मुस्लिम परिवारमा जन्मान्तरका लागि परिवार नियोजनका अस्थायी साधनको प्रयोग गर्ने र पुरुष वा महिलाले स्थायी वन्ध्याकरण गर्ने क्रम निकै कम रहेको झाको भनाइ छ । यसबाहेकका प्रजनन् स्वास्थ्य समस्याबारे केन्द्रित भएर परामर्श र उपचार सेवा बढाउन सके खास उपलव्धी हुने स्वास्थ्यकर्मी बताउँछन् ।

स्वास्थ्यचौकी भवन निर्माणको काम सम्पन्न भएसँगै सो बस्तीमा वडागत योजनाअन्तर्गत पिसिसी ढलान गरिने सडक निर्माणको काम थालिएको छ । बस्तीभित्र रिक्सासम्म जान नसक्ने अवस्था चिर्न मुख्य सडकमा जोडिने गरी बस्तीभित्र पिसिसी ढलानको सडक निर्माण थालिएको मटिहानी–३ का वडाध्यक्ष लियाकत कवारीले बताए। आफ्नो बस्तीमा स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भएसँगै सडक निर्माण थालिएपछि मुस्लिम बस्तीमा अहिले खुशी छाएको छ ।

यसैबीच वरदाहासँगै जोडिएको मटिहानी–४ मझौराविशनपुरस्थित नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालयका कक्षा–८ का ४० छात्राले विद्यालय आउन जान साइकल पाएका छन् । प्रदेश–२ सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत बुधबार नगरप्रमुख मण्डलले ४० जना छात्रालाई साइकल वितरण गर्नुभएको हो । यादव, धानुक, केवटसहितका अत्यन्त गरिब जनजाति तथा खत्वे, चमारसहितका दलितको बस्तीस्थित विद्यालयका छात्राले साइकल पाएपछि विद्यालयमा भर्ना हुने र पढाइलाई निरन्तरता दिने छोरीहरुको सङ्ख्या वृद्धि हुने मटिहानी नगरपालिका शिक्षा शाखाका प्रमुख चन्देश्वर साहको विश्वास छ । रासस