कञ्चनपुर– पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट फर्कने नेपालीलाई विकास आयोजना सेवा केन्द्र (डिप्रोक्स) ले निःशुल्क रुपमा खाजा खुवाउने कार्यलाई निरन्तरता दिँदै आएको छ ।


ADVERTISEMENT


तीन साताको अवधिमै केन्द्रले तीन हजार ५०० जनालाई खाजा खुवाएको छ । भारतबाट फर्कनेलाई सीमा नाकामा स्वास्थ्य परीक्षणपश्चात् होल्डिङ सेन्टरमा पुर्‍याइएपछि खाजा खुवाइने गरिएको हो ।


ADVERTISEMENT

# # #


खाजाका रुपमा फलफूल, चाउचाउ र बिस्कुट दिइने गरिएको छ । खाजा वितरणका लागि चार कर्मचारी बिहान ६ः०० बजेदेखि दिउँसोसम्म खट्ने गरेका छन् । ‘कोरोना महामारीलाई नियन्त्रण गर्न गरिएको बन्दाबन्दीका बेला भारतबाट फर्किएकालाई खाजा पाउन निकै मुस्किल छ’, केन्द्रका प्रमुख प्रशिक्षक अतिना बोहरा मडैले भने, ‘त्यै भएर एक छाक भए पनि खाजा खुवाउन थालिएको छ ।’

भारतमा दोस्रो लहरको कोरोना महामारी फैलिएपछि गड्डाचौकी भएर नेपाली घर फर्किन थालेका थिए । अहिलेसम्म घर फर्किने क्रम रोकिएको छैन । घर फर्र्किएकाहरुले तीन दिनसम्म भोकै भएको पीडासमेत सुनाउने गरेको मडैले बताए । डिप्रोक्स नेपालले कृषि क्षेत्रमा महिलाको सहभागितासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस