डोटी– समाचार सङ्कलनका लागि जिल्लाको पूर्वीचौकी गाउँपालिका गएका पत्रकारमाथि दुर्व्यहार गरेको भन्दै यहाँस्थित पत्रकार महासङ्घ तथा विभिन्न सङ्घ सङ्गठनले दुर्व्यहार गर्नेलाई कारवाहीको माग गरेका छन् ।


ADVERTISEMENT


पूर्वीचौकीमा समाचार सङ्कलन र प्रशासनिक कार्यका लागि गएका नजर नेपाली साप्ताहिकका सम्पादक झलक पाली, नेपाल टेलिभिजन डोटी संवाददाता सुवास नेपाली र त्रिवेणी एफएममा कार्यरत पत्रकार प्रेम नेपालीमाथि त्यहाँका जनप्रतिनिधिले नै दुर्व्यहार गरेको भन्दै कारवाहीका लागि माग गरिएको हो ।


ADVERTISEMENT

# # #


पत्रकारमाथि भएको उक्त घटनाको विरोध गर्दै पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश, पत्रकार महासङ्घ डोटी शाखा, प्रेस चौतारी र प्रेस सेन्टरले प्रेस विज्ञप्ति जारी गरी घटनाका दोषीहरुलाई कानूनी कारवाहीसहित पेशागत सुरक्षाको प्रत्याभुत गराउन माग गरेका छन् । गाउँपालिकाले आइसोलेशन वार्ड सञ्चालनमा ल्याएको, भिडियो एक्सरे सेवा शुरु गरेको, दलित लक्षित कार्यक्रमअन्तर्गत सम्पन्न क्रियाकलापका विषयमा समाचार सङ्कलन तथा गाउँपालिकाबाट भुक्तानी गर्न बाँकी रहेका विज्ञापन तथा सूचनाको रकम भुक्तानी लिन पुगेको समयमा बिनाकारण आफूहरुमाथि हातपात हुनुका साथै गालीगलौज र अभद्र व्यवहार भएको पत्रकार पालीलगायतले आरोप लगाएका छन् ।

उनका अनुसार वडा नं १ का वडाध्यक्ष अङ्कबहादुर खड्का, वडा नं ४ का वडाध्यक्ष नवराज खड्का, वडा नं ४ का प्रेमबहादुर खड्का र वडा नं ५ का शङ्करबहादुर कठायतले कार्यालय परिसरमै अभद्र व्यवहार गरेका हुन् । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र सानागाउँ प्रहरी चौकीबाट खटिएका प्रहरीकै अगाडि आफूहरुमाथि गालीगलौज गर्ने, शरीरमा जाइलाग्ने, क्यामेरा बन्द गर्न लगाउने, मास्क खोल्न लगाउनेलगायतका अभद्र व्यवहार भएको पीडित पत्रकारहरुको आरोप छ ।

घटनाका विषयमा गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले, पत्रकारमाथि त्यस किसिमको अभद्र व्यवहार गरिनु लज्जास्पद रहेको बताएका छन् । दुर्व्यहार गरेको आरोप लागेका जनप्रतिनिधिसँग थप बुझन खोज्दा सम्पर्क हुन सकेन । रासस