काठमाडौं  – काठमाडौं उपत्यकामा २५ भन्दा बढी सिट भएका सार्वजनिक सवारी साधनलाई जोर बिजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय सहित एक साता निषेधाज्ञा थप गरिएको छ ।


ADVERTISEMENT


सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जारी निषेधाज्ञा असार २१ गतेसम्म थप गर्दै थप गरिएको निषेधाज्ञामा सार्वजनिक सवारी साधान सञ्चालन गर्न दिने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्‍चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्दै भौतिक दूरी कायम हुने गरी कुल स्वीकृत सीट क्षमता भन्दा बढी संख्यामा यात्रु नराख्ने गरी बस्ने व्यवस्था मिलाउनुपर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

सार्वजनिक सवारी साधन बिहान ६ः०० बजे देखि साँझ ७ः०० बजेसम्म मात्र सञ्‍चालन गर्ने प्रशासन कार्यालयको आदेशमा उल्लेख छ ।

त्यस्तै दैनिक उपभोग्य बस्तु तथा खाद्यान्न पसल पनि बिहानदेखि बेलुका ६ बजेसम्म सञ्‍चालन गर्न दिइने निर्णय भएको छ । यस्तै अन्य पसलहरूको हकमा पनि बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्‍चालन गर्न दिइने निर्णय भएको पराजुलीले बताए । होटेल, रेष्टुरेष्टको हकमा भने टकेअवे र होम डेलिभरी सेवामात्र दिन पाउने व्यवस्था गरिएको उनको भनाई छ ।

कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेको छ । निषेधाज्ञामा सभा सम्मेलन, गोष्ठी गर्न निषेध नै गरिएको छ । सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, स्विमिङ पुल, सैलुन, ब्युटी पार्लर, जिमखाना, रंगशाला पनि निषेधित भित्र नै परेको छ । शैक्षिक संस्थाहरु पनि निषेधितमै परेको छ ।

पार्टी प्यालेस र होटलहरु पार्टी आयोजना गर्न निषेध नै छ । भोज भत्तेर लगायतका गतिविधिमाथि पनि कडाई कायमै रहेको प्रशासन कार्यालयले जनाएको छ ।