– डा. नविन कुमार मिश्र  (फोक्सो तथा दम रोग विशेषज्ञ, काठमाडौँ मेडिकल कलेज अस्पताल)


ADVERTISEMENT


‘पोष्ट कोभिड सिन्ड्रोम’ अर्थात्, कोभिड–१९ लागेका व्यक्तिहरुमा संक्रमणमुक्त भएपछि अथवा संक्रमणको रिपोर्ट नेगेटिभ आएपछि पनि त्यसको लक्षण रहिरहने अवस्था नै ‘पोष्ट कोभिड’ को अवस्था  हो ।


ADVERTISEMENT

# # #


सामान्यतयाः अधिकांश व्यक्तिमा कोरोना संक्रमणको काल २ देखि ३ हप्तासम्म रहन्छ । यद्यपि सो अवधिभन्दा पछिसम्म पनि व्यक्तिमा कोभिड–१९ का लक्षण एवम् समस्याहरु देखापर्ने अवस्थालाई नै ‘पोष्ट कोभिड सिन्ड्रोम’ भनिन्छ । नामबाट नै अर्थ स्पष्ट हुने यस समस्यालाई अर्काे सहज एवम् सरल भाषामा बुझ्नुपर्दा कोभिड–१९ संक्रमणका कारण देखापर्ने लक्षण १२ हप्ताभन्दा बढी समयसम्म रहिरहेमा यसलाई ‘लङ कोभिड’ भनेर पनि बुझ्न सकिन्छ ।

‘लङ कोभिड’ भएको बिरामीहरुलाई शरीरका विभिन्न अंगहरुमा असर परेको हुन्छ । जस्तैः  फोक्सो, मुटु, मस्तिष्क, छाला, रगत र मांसपेशी आदि । यसरी संक्रमणले क्षति पुर्‍याएका बिरामीमा देखापर्ने सम्भावित लक्षणहरुलाई शारीरिक एवम् मानसिक लक्षण गरी दुई भागमा विभाजित गर्न सकिन्छ ।

शारीरिक लक्षणहरु

. अत्याधिक थकानको महसुस हुनु

पोष्ट कोभिडका समस्या देखा परेको समूहमध्ये अधिकांशलाई देखापर्ने समस्या भनेको थकानको महशुस हुनु हो । यो ८७ प्रतिशतमा देखिएको पाइन्छ ।

. स्वाँ-स्वाँ हुनु वा सास फेर्न गाहृो हुनु

कोरोना संक्रमणले प्रत्यक्ष रुपमा व्यक्तिको फोेक्सो र मुटुमा क्षति पुर्‍याउने भएकाले पोष्ट कोभिडको रुपमा ७० प्रतिशत व्यक्तिलाई श्वासप्रश्वास सम्बन्धि समस्याले सताएको देखिन्छ ।

. छाती सम्बन्धिका समस्या

पोष्ट कोभिडका विभिन्न लक्षणमध्ये साझा रुपमा देखिने अर्काे लक्षण भनेको छाती सम्बन्धिका समस्या पनि हुन् । छाती भारी हुने र दुखेको भान हुने यस्ता समस्याको गुनासो  झण्डै ४० प्रतिशत बिरामीले गर्ने गरेका छन् ।

. खोकी लागिरहनु

खोकी लागिरहनु पनि पोष्ट कोभिड सिन्ड्रोममा देखिने अर्काे मुख्य लक्षण हो । यो समस्याले ३४ प्रतिशतसम्म बिरामीलाई सताउने गरेको पाइएको छ ।

. गन्ध स्वाद थाहा नपाउनु

लामो समयसम्म गन्ध र स्वाद थाहा पाउन नसक्नु पोष्ट कोभिडका बिरामीका देखापर्ने लक्षणमध्ये एक हो । यो समस्या पोष्ट कोभिड सिन्ड्रोम का लक्षण देखा परेका १० देखि १५ प्रतिशत व्यक्तिमा देखिने गरेको पाइन्छ ।

. हाडजोर्नी तथा मांसपेशीको दुखाई महशुस हुनु

कोरोना संक्रमणमुक्त भइसकेका करिब १० प्रतिशत व्यक्तिहरुमा हाडजोर्नी तथा मांसपेशीको दुखाई हुने लक्षण ‘पोष्ट कोभिड सिन्ड्रोम’ स्वरुप देखा पर्दछ ।

यस्तै, सोही अनुपातमा नै केही व्यक्तिमा भने निन्द्रा नलाग्ने समस्या पनि देखिएको पाइन्छ ।

मानसिक लक्षणहरु

मानसिक स्वास्थ्य अन्र्तगत पोष्ट कोभिड सिन्ड्रोमका लक्षण देखिएका १५ देखि २५ प्रतिशत बिरामी डिप्रेशन तथा तनावको शिकार भई उनीहरुको मनमा अनेकौँ कुरा खेल्ने, आत्तिने वा डर लाग्ने समस्याहरु पनि देख्ने गरेको पाइएको छ ।

जोखिम समूह

वर्तमान समयलाई नियाल्ने हो भने, कोरोना संक्रमणको दर घट्दै जाँदा ‘पोष्ट कोभिड’ का समस्या देखापर्ने संख्या भने उकालो लाग्दै गएको देखिन्छ । यद्यपि यस समस्या कोरोना संक्रमण भएका प्रत्येक व्यक्तिलाई देखापर्छ नै भन्ने हुदैँन ।

तर, कोरोना संक्रमणको कारण फोक्सोको धेरै भागमा क्षति पुगेको, अक्सिजनको आवश्यकता बढी परेको एवम् गम्भीर क्षतिका कारण भेन्टिलेटरमै पुगेको, शरीरमा अन्य दीर्घकालीन रोग-प्रेसर, सुगर, दम वा किड्नी सम्बन्धि रोग आदि) भएको र बढी उमेर भएका वृद्ववृद्वा समूहमा भने यसको जोखिम उच्च रहन्छ ।

तर, यसो भन्दै गर्दा कोरोना कालमा मध्यम अवस्था देखिएका केही समूहमा पनि यसको लक्षण देखिन सक्ने अध्ययनहरुले देखाएको छ ।

यस्ता लक्षणहरु कति अवधि सम्म रहिरहन्छन् त ?

यस विषयमा विभिन्न अध्ययन एवम् अनुसन्धानहरु जारी नै रहिरहेकाले तत्काल यसको उचित यकिन गर्न सकिने अवस्था छैन । यद्यपि प्रारम्भिक अध्ययन निस्कर्षले भने अधिकांशमा १२ हप्तासम्म देखिने यस्ता लक्षण केहीमा भने ५ देखि १२ महिनाको अवधिसम्म यथावत् नै रहन सक्ने देखाएको छ ।

प्रभावित समूह संख्या

प्रस्तुत सन्दर्भमा विज्ञहरुद्वारा सर्वेक्षण जारी नै रहेता पनि प्रारम्भिक निस्कर्षबाट भने १८ देखि ४९ वर्षसम्मका १० प्रतिशत  र ७० वर्षभन्दा माथिका २२ प्रतिशत व्यक्तिहरु यस समस्याबाट पीडित रहेको पाइएको छ ।

रोकथाम तथा निदानका उपायहरु

कोरोना संक्रमणमुक्त पछि पनि देखिने यस्ता लक्षणबाट छुटकारा पाउनका निम्ति व्यक्तिले मुख्यत: अपनाउन सक्ने सहज एवम् सरल उपाय भनेकै आफ्नौ दैनिकीमा परिवर्तन गर्नु हो । यसका लागि व्यक्तिले निम्न पक्षमा विशेष ध्यान दिनुपर्दछः

. नियमित शारीरिक व्यायाम

पोष्ट कोभिड सिन्ड्रोमका समस्या देखिएका व्यक्तिका लागि यसबाट राहत पाउनका लागि अपनाउन सकिने प्रमुख उपाय भनेकै नियमित व्यायाम गर्नु हो । यसका लागि व्यक्तिले लामो सास तान्ने अनि  २० देखि २५ सेकेन्डसम्म सास रोकेपछि मात्रै फाल्ने र, सोही क्रमलाई पुनः दोहोराउने अथवा एरोबिक्स प्रकृतिका व्यायामहरुलाई विशेष प्राथमिकताका साथ अनुशरण गर्नुपर्छ ।

यद्यपि यस्ता व्यक्तिहरुले आफूलाई शारीरिक रुपमा चुस्त राख्ने बाहानामा लगातार एकैचोटि नभई शरीरको सहजतामा पनि ध्यान पुर्‍याउँदै आराम गर्दै आफ्ना कामहरु सम्पन्न गर्नुपर्दछ ।

. उचित पोषणयुक्त आहारको सेवन

उचित पोषणयुक्त आहारको प्रमुख विशेषता भनेकै यसले शरीरलाई स्वस्थ राख्दै शरीरमा आवश्यक ऊर्जा प्रदान गर्नु हो । जुन पोष्ट कोभिड सिन्ड्रोमका लक्षण देखिएका व्यक्तिका लागि अत्यावश्यक मानिन्छ । तसर्थ त्यस्ता समूहले विशेष रुपमा उचित पोषणयुक्त आहार र खानपिको सेवन गर्नु उपयुक्त रहन्छ ।

. सामाजिक रुपमा सक्रिय रहने

पोष्ट कोभिड सिन्ड्रोम समूहका केही व्यक्तिमा मानसिक स्वासथ्यमा पनि समस्या देखिने भएकाले यस्ता व्यक्तिहरुले आफ्नो मस्तिष्कलाई शान्त राख्नका लागि शारीरिकसंगै सामाजिक रुपमा पनि उत्तिकै सक्रिय रहनु अत्यावश्यक रहन्छ ।

आफ्नो दिमागमा खेल्ने विभिन्न विकार सोचाईबाट राहत पाउनका लागि यस्ता व्यक्तिहरुले आफ्ना नजिकका साथीभाई अथवा आफन्तसंग कुराकानी गरेर वा संगै समय व्यतीत गरेर पनि आफ्नो मस्तिष्कलाई अन्यत्र भुलाउन सक्छ ।

यसैगरि, यस्ता समूहले विभिन्न रचनात्मक कार्य तथा खेलकुद गतिविधिमा पनि आफूलाई संलग्न गराई लाभ प्राप्त गर्न सक्छन् ।

४. चिकित्सकको सल्लाह लिने

कोरोना संक्रमणकाल मुक्त भएपछि पनि आफुमा सोही लक्षण यथावत् नै रहिरहेका व्यक्तिले भने एकपटक अनिवार्य रुपमा चिकित्सकको परामर्श लिनुपर्दछ । र, चिकित्सकको सल्लाह बमोजिम नै औषधिको सेवन गरेको खण्डमा यसलाई निर्मूल समेत पार्न सकिन्छ ।

प्रस्तुतीः सृजना मगर ।