रियाल मड्रिडले बिहीबार पहिलो लेगमा तेस्रो श्रेणीको फुन्लाब्रादामाथि २–० को जित हासिल गर्दै कोपा डेल रेको अन्तिम १६ प्रवेश सम्भावना बलियो पारेको छ। प्रशिक्षक जिनेदिन जिदानले क्रिस्टियानो रोनाल्डो, लुका मोडरिच, टोनी क्रुज, सर्जियो रामोस र इस्को जस्ता प्रमुख खेलाडीलाई आराम दिएको खेलमा रियालले दुवै गोल पेनाल्टीमा गरेको थियो।


ADVERTISEMENT


६३औं मिनेटमा मार्को एसेन्सियोले पेनाल्टीमा गरेको गोलमा रियालले अग्रता लिएको थियो । फुन्लाब्रादाका अर्चाफ हामिकीले फ्रान गार्सियालाई लडाएपछि रियालले पेनाल्टीको अवसर पाएको थियो।


ADVERTISEMENT

# # #


८०औं मिनेटमा रियालले दोस्रो पेनाल्टीको अवसर पायो । उक्त अवसरलाई गोलमा परिणत गदै लुकास भाजक्युजले टोलीको अग्रता दोब्बर पारेका थिए । फुन्लाब्रादाका पाको क्यान्डेलाले थियो हर्नान्डेजलाई लडाएपछि रियालले पेनाल्टीको अवसर पायो भने क्यान्डेलाले दोस्रो पहेलो कार्ड दर्शन गर्दै मैदान छोडे । ८९औं मिनेटमा जिसस भालेजो रातोे कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि रियालले पनि १० खेलाडीमा सीमित हुदै खेलको अन्त्य गरेको थियो।

‘खेलमा जित महत्वपूर्ण हुन्छ र टोलीले आज त्यही गर्यो । त्यसैले म खुसी छु,’ जिदानले भने, ‘पहिलो हाफमा पाएका अवसरलाई सदुपयोग गर्न नसके पनि हामीले स्वभाविक प्रदर्शनलाई निरन्तरता दियौं र अन्ततः नतिजा आफ्नो पक्षमा पार्न सफल भयौं।’ डेपोर्टिभो ला कोरुनालाई ४–१ ले पराजित गर्दै लास पलमसले पनि अघिल्लो चरण पुग्ने सम्भावना बलियो पारेको छ । पलमसको जितमा मोनो र जोनाथन काल्लेरीले समान दुई–दुई गोल गरे । डेपोर्टिभोका लुकास परेजले सान्त्वना स्वरुप एक गोल गरेका थिए।

त्यस्तै जिरोनालाई २–० ले पराजित गरेको लेगानेसले पनि अन्तिम १६ प्रवेशको सम्भावना बलियो पारेको छ । लेगानेसको जितमा इम्मानुअल बोयटिङ र चेइक डोकौरेले समान एक–एक गोल गरेका थिए। बिहीबारै सम्पन्न अर्को खेलमा स्पानियोल टेनिरिफसँग गोलरहित बराबरीमा रोकिएको छ।