नारायण अधिकारी, चितवन– भरतपुर अस्पतालमा कोभिडका बिरामी घटेसँगै सुत्केरी सेवा लिनेको सङ्ख्या बढेको छ ।


ADVERTISEMENT


अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा. सुनिलमणि पोखरेलले कोभिडका बिरामी घटेसँगै अस्पतालमा आउने प्रसूतिका बिरामी संख्यामा वृद्वि भएको जनाएका हुन् ।


ADVERTISEMENT

# # #


कोरोना लहरका समयमा कोभिड–१९ का बिरामी धेरै हुँदा दैनिक १२ देखि १५ जना अस्पतालमा सुत्केरी हुने गरेकोमा यो सङ्ख्या बढेर २० देखि २५ पुगेको उनको भनाइ छ । विगतका वर्षहरुमा अस्पतालमा दैनिक ३५ देखि ५० जना सम्मले सो सेवा लिएको स्मरण गर्दै उनले क्रमशः बढ्दै जाने बताए । यस्तै, विगतको तुलनामा शल्यक्रिया गराउने सुत्केरी संख्यामा पन िकेहि कम आएको उनको अनुभव छ । उनका अनुसार, विगतमा यो प्रतिशत ३० हाराहारी रहेको थियो भने, हाल प्रसूति मध्ये ३६ प्रतिशत हाराहारीको शल्यक्रिया गरिने गरिएको छ ।

कोभिडका बिरामी बढ्दै गर्दा पनि भरतपुर अस्पताल सुत्केरीका लागि सुरक्षित रहेको डा. पोखरेलको तर्क छ । अस्पतालको स्त्रीरोग विभागमा १२ विशेषज्ञ चिकित्सकसहित स्नातकोत्तर गर्दै गरेका चिकित्सक र ७० नर्स छन् ।

अस्पतालका रहेका क्याविनमा कोभिडका बिरामी रहेकाले सुत्केरी भएकालाई समस्या भएको छ । हाल १४ पुराना क्याविन बाहेक अन्यत्र सबैमा कोभिडका बिरामी छन् । अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले यो हप्ता हेरेर अर्को हप्ताबाट कोभिडका बिरामी राखिएको क्याविन खाली गरेर सुत्केरी लगायतका बिरामीलाई दिइने जानकारी दिए ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले भने असार १ गते १२ जना सुत्केरी भएकोमा १५ गते २४ पुगेको जनाएका छन् ।अस्पतालमा एक सय ९० कोभिडका बिरामी राख्न मिल्छ । उनका अनुसार, कोभिडका बिरामी बढ्दा जेठको पहिलो साता अधिकांश शय्या भरिएको थियो भने आज यो सङ्ख्या ७० मा झरेको छ । अस्पतालमा कोरोना सङ्क्रमित महिलाकोसमेत प्रसूति गरिन्छ । निजी अस्पतालले प्रसूति गराउनु पर्ने महिला सङ्क्रमित भएमा पनि भरतपुर अस्पताल पठाउने गर्दछन् । कोरोना सङ्क्रमण देखिएयता अस्पतालमा ३२ सङ्क्रमितले सुत्केरी सेवा लिइ सकेका छन् । ती मध्ये १० जनाको शल्यक्रिया गरिएको हो । पौडेलले सङ्क्रमित प्रसूतिका बिरामीलाई राख्ने र शल्यक्रिया गर्ने ठाउँ छुट्टै भएकाले आमाहरुले सुरक्षित महशुश गर्ने गरेको जनाए ।

राजधानीको प्रसूति गृहपछि देशमानै सबैभन्दा बढी सुत्केरी हुन यहाँ आउने गर्दछन् । पौडेलका अनुसार एक वर्षमा १४ हजार हाराहारीले यहाँबाट सेवा लिने गरेका छन् । यहाँ चितवन सहित १९ जिल्लाका महिला प्रसूतिलाई आउँछन् । धेरै मकवानपुर, नवलपरासी र गोरखाका हुन्छन् । कोभिडका कारण टाढाका सुत्केरीले जिल्ला अस्पतालमा सेवा लिने गरेपनि पछिल्ला दिनमा ती जिल्लाका बिरामी आउनेक्रम बढेको छ । अस्पतालमानै शिशु सघन उपचार कक्ष समेत भएकाले सहज भएको छ ।

यद्यपि कोरोना लहरको समयमा भने कोभिडका बिरामी बढी हुँदा जोखिम बढ्न सक्ने भन्दै बाहिर महङ्गो खर्चमा सुत्केरी गराउने गरिएको थियो । भरतपुर अस्पतालमा निःशुल्क प्रसूति सेवा दिइन्छ । शल्यक्रिया गर्नुपरेमा त्यही सेवाका लागि निजिमा चर्को शुल्क असुल्ने गरिन्छ । रासस