काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने दाबी गरेका छन् ।


ADVERTISEMENT


सोमबार निधन भएका माओवादीका केन्द्रीय सदस्य महादेव यादवलाई श्रद्धाञ्जली दिन मंगलबार जनकपुर पुगेका प्रचण्डले सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्ने जिकिर गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रतिनिधि सभा पुनर्स्थापना हुने र संविधानको मर्म, भावना तथा लोकतान्त्रिक मूल्य मान्यता कायम रहने उनले बताए । उनले राष्ट्रिपति कार्यालय र सर्वोच्च अदालतमा बुझाएका सांसदको हस्ताक्षरका आधारमा देउवा प्रधानमन्त्री हुने बताएका हुन् ।

‘अहिले त झन् संविधान मिच्ने, नाङ्गै लोकतान्त्रिक मूल्यमान्यता कुल्चने काम गरेको हुनाले अदालतले संसद् पुनःस्थापना गर्छ,’ उनले भने, ‘संसद् पुनर्स्थापना मात्रै होइन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुन्छ भन्ने विश्वास मलाई छ ।’

हाल प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासले यो मुद्दा हेरिरहेको छ । मुद्दाका पक्ष र विपक्षीका तर्फबाट बहस सकिसकेको छ भने अदालतका सहयोगी एमिकस क्युरीले पनि संवैधानिक इजलासलाई आफ्नो राय दिएका छन् ।