काठमाडौँ – नेपाली कांग्रेसले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलन प्रधानमन्त्री मौन रहनु चरम गैरनिजम्मेवारी रहेको बताएको छ ।


ADVERTISEMENT


शुक्रबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिष्ठानमा विभिन्न माग राख्दै चिकित्सक, कर्मचारी र विद्यार्थीद्वारा जारी आन्दोलन एक महिना पुग्दा पनि कुलपति समेत रहेका प्रधानमन्त्री ओली जारी आन्दोलनप्रति वेखबर हुनु दुस्खद रहेको बताएका छन् ।


ADVERTISEMENT

# # #


‘प्रधानमन्त्रीको जिम्मेवारी भित्र अनेकौं विषय पर्दछन् र छन् भन्ने तथ्यमा कसैको दुइमत छैन ।’ उनले विज्ञप्तमा प्रश्न गर्दै भनेका छन्, ‘तर त्यो भनिरहँदा प्रतिष्ठानको कुलपति हुनुको गहन दायित्व र कर्तव्य निर्वाह नगरेर मौन, निरपेक्ष या भूमिका शून्य बस्नु भनेको आफ्नो जिम्मेवारीप्रतिको चरम गैर जिम्मेवारी हो ।’

प्रवक्ता शर्माले कोभिड महामारी चलिरहेको बेला स्वास्थ प्रतिष्ठानमा लामो समय द्वन्द्व कायम रहँदा त्यसले समग्र प्रतिष्ठान र नागरिक समेतलाई गम्भीर असर पुग्ने र पुगिरहेको छ भन्ने हेक्का कुलपतिलाई नहुनु दुःखद रहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘प्रतिष्ठान भित्र अनेकन बेथिति र अराजकता रहेकोे विवरण पटक–पटक सार्वजनिक भएका छन् । ढाकछोप होइन त्यसको आवश्यक उपचार जरुरी छ । प्रतिष्ठानको प्रतिष्ठा र भविष्यका लागि अहोरात्र कार्य गरिरहेकाहरुको भावनामा चोट पु¥याएर केवल भौतिक संरचनामा संस्थाको भविष्य सुरक्षित गर्न सकिन्न ।’

प्रवक्ता शर्माले आन्दोलनमा सरिक चिकित्सक, कर्मचारी र विद्यार्थीहरुसँग सार्थक संवाद मार्फत जायज माग अविलम्ब सम्बोधन गरेर प्रतिष्ठानभित्र सहज वातावरण निर्माण गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

उपकुलपतिसहित चारजना पदाधिकारीको बहिर्गमनको माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, कर्मचारी र विद्यार्थीहरु २५ दिनदेखि प्रतिष्ठानमा भर्ना र आन्दोलनमा छन् ।