– रामबहादुर थापा


ADVERTISEMENT


तनहुँ – भर्जन्म घाँसतिर मन् दिई धन् कमायो
नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन आज यस्तो ।


ADVERTISEMENT

# # #


मंगलवार २०८औँ भानुजयन्ती । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको सम्झनामा यसपालि यहाँ कुनै कार्यक्रम/समारोह भएनन् । राष्ट्रिय विभूतिसमेत रहेका भानुभक्तको जन्मजयन्ती यसै बित्यो ।

विसं २०५२ देखि धवलागिरि साहित्य प्रतिष्ठान, बागलुङले विविध कार्यक्रमसहित भानु जयन्ती मनाउँदै आएको थियो । यो वर्ष प्रतिकूल परिस्थितिका कारण केही गर्न नसकिएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताए ।

कोरोना महामारीको जोखिमका कारण स्थानीय प्रशासनले सार्वजनिक समारोह आयोजनामा रोक लगाएको छ । अघिल्लो वर्ष भने प्रतिष्ठानले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर भानु जयन्ती समारोह आयोजना गरेको थियो । “समय पनि यस्तै छ, कोरोना कारणले भानु जयन्ती मनाउन सकिएन”, प्रतिष्ठानका अध्यक्ष रोशनले बताए । उनले आगामी वर्षदेखि भानु जयन्ती समारोहलाई निरन्तरता दिइने बताए । प्रतिष्ठानले सोही अवसर पारेर ‘बम–सरस्वती स्मृति पुरस्कार’ समेत प्रदान गर्दै आएको थियो । बागलुङ नगरपालिका–३ स्थित प्रस्तावित भानु उद्यानमा भेला भई स्रष्टाहरु स्थलगत कविता, भानु चित्र लेखन र वाचनमा भाग लिन्थे । वाङ्मयप्रेमीहरु रुचीपूर्वक भानु जयन्तीमा सहभागी हुन्थे ।

प्रतिष्ठानमात्रै होइन यहाँका अन्य कुनै पनि संस्थाले यो वर्ष भानुभक्तलाई सम्झेनन् । यसअघि काठेखोला गाउँपालिका–४ तङ्ग्रामलगायतका ठाउँमा भानु जयन्ती मनाउने चलन थियो । कतिपय विद्यालयले समारोहको आयोजना गर्थे । वर्सेनि भानु जयन्तीमा सहभागी हुँदै आउनुभएका साहित्यप्रेमी प्रकाश बरालले कार्यक्रम आयोजना नहुँदा खल्लो लागेको सुनाए । “सधैँ भानु जयन्तीको खबर आउँथ्यो, यसपालि त केही अत्तोपत्तो पाइएन”, उनले भने ।

भानुभक्तको सम्मानमा उद्यान निर्माण गर्ने, सालिक राख्नेलगायतका योजना प्रतिष्ठानले अघि सारेको छ । विसं १८७१ असार २९ मा तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तले बाल्मिकी रामायणलाई नेपाली भाषामा भावानुवाद गरेका थिए । नेपालसहित दार्जिलिङ, सिक्किम, बर्मालगायत नेपालीभाषीको बसोबास रहेको ठाउँमा श्रद्धापूर्वक भानुभक्तको सम्झना गरिन्छ । भानुभक्तका केही रचना चर्चित हुनुका साथै केहीले महिलामाथिको चरम विभेद तथा उत्पीडनको प्रवद्र्धन गरेकाले आलोचित पनि छन् । नेपालमा भाषिक एकताको श्रेय उनलाई नै दिने गरिन्छ । रासस