काठमाडौँ– शहरको सरसफाइ, हरियाली र सुन्दरताको स्थायित्वका लागि काठमाडौँ महानगरपालिकाले वृक्षरोपण अभियान शुरु गरेको छ ।


ADVERTISEMENT


वर्षातको समय पारेर कामपाले शनिबारदेखि यस अभियानको थालनी गरेको हो । कामपा प्रमुख विद्यासुन्दर शाक्यले वडा नं १२ विष्णुमती नदी किनाराबाट बिरुवा रोप्ने काम शुरु गरेका हुन् ।


ADVERTISEMENT

# # #


सार्वजनिक जग्गा संरक्षण गरेर हरियाली बढाउने कामपाको नीतिअनुरुप यस कार्य अघि बढाइएको हो । नीतिअनुरुप सार्वजनिक निकाय र समुदायसँगको सहकार्यमा बिरुवा रोप्ने काम भएको छ । साना बिरुवा हुर्काउन कठिन हुने भएकाले कम्तीमा पाँच फिटभन्दा अग्ला बिरुवा रोप्ने मापदण्ड बनाइएको छ । अहिलेको बर्सातको समयमा दुई हजार ५०० बिरुवा रोप्ने योजना कामपाको छ ।

हरियालीसँगै शहरी सुन्दरता बढाउन नियमित र विशेष सरसफाइ गर्ने, दृश्य प्रदूषण गराउने वस्तुको प्रदर्शन रोक्ने तथा भएकालाई हटाउने काम भइरहेको कामपाले जनाएको छ । अभियानको पहिलो दिन शिरीष, कपुर, कल्की र चाँप जातका करिब १३० बिरुवा रोपिएको कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । ‘बिरुवा रोप्नुजत्तिकै महत्वपूर्ण काम यसको संरक्षण गर्नु पनि हो । बारबेर, मल र पानीको उचित प्रबन्ध गर्नुपर्छ’, श्रेष्ठ भन्छन्, ‘यसका लागि वडा र समुदायसँग समन्वय गरेर कार्यक्रम सफल बनाउँछौँ ।’

कामपाले गत आर्थिक वर्ष जस्तै चालु आवमा पनि कामपाभित्र रहेको सार्वजनिक जग्गाको पहिचान, उद्यान निर्माण र हरियाली प्रवृद्र्धन गर्ने कार्यलाई नीति तथा कार्यक्रममा समेटी बजेटको समेत व्यवस्था गरेको छ । कामपा बोटबिरुवा रोप्ने कार्य मात्रै होइन, शहर कुरूप बनाउने र नीतिविपरीत शहरका विभिन्न स्थानमा राखिएका विज्ञापन बोर्ड हटाउने कार्यमा पनि निरन्तर लागिरहेको छ । रासस