रसुवा– राजमार्गको अवरोध हटाउन उपकरण तैनाथ गरिएसँगै चीनबाट आयात भएका सामग्री बोक्ने सवारीसाधन गुडाउन केही सहजता आएको छ ।


ADVERTISEMENT


रसुवा खण्डको पासाङल्हामु राजमार्गका विभिन्न स्थानमा पहिरो झर्न थालेपछि जिल्ला विपद् व्यवस्थापन समितिको आग्रहमा सडक कार्यालयले व्यवस्थापन गरेको स्काभेटर तथा लोडरको सहायताले आकस्मिक पहिरो पन्छाइ नियमितरूपले यातायात सञ्चालनमा सहजता आएको हो ।


ADVERTISEMENT

# # #


राजमार्गका स्थानमा पहिरो पन्छाउने उपकरण देखिन थालेपछि चीनबाट आयात गरिएका सामग्री ढुवानी गर्ने सवारीसाधन रसुवागढी लैजान थोरै भए पनि आत्ममनोबल बढ्न थालेको चालकले बताएका छन् । रसुवा खण्डअन्तर्गतका राम्चे, मूलखर्क, धुञ्चेको त्रिशूली खोला, भार्खुडाँडा, सानोभार्खु खोला, याङ्याङदेखि भोटेकोशी पुल, कलाङकुलुङ, लिङ्लिङ एवं तातोपानी क्षेत्रका सडक मार्गमा पहिराको जोखिम देखिएपछि उपकरणको व्यवस्थापन गराइएको हो ।

भारी वर्षाका कारण गत असार १ गतेयता ४० भन्दा बढी सानाठूला पहिराको अवरोध हटाइ सकिएको जिल्ला प्रहरी प्रमुख देवन्द्र पाण्डेले बताए । दैनिक सडकको अवस्था हेरी अवरोध भएको स्थान खुलाउन सडक प्राविधिकलाई नेपाल प्रहरीले सहयोग गर्दै आएको बताइन्छ ।

बेत्रावतीदेखि स्याफ्रुबेंसीसम्म टिपर दुई, लोडर एक र स्काभेटर एक एवं स्याफ्रुबेंसीदेखि रसुवागढीका लागि लोडर एक, डोजर एक र स्काभेटर एक तैनाथ गरी वर्षायामको पहिरो पन्छाउने काम भइरहेको सडक प्राविधिक राजेन्द्र मर्हजनले जानकारी दिए ।

बाढीपहिराका कारण सिन्धुपाल्चोकको तातोपानी नाकाबाट आयात ठप्प भएपछि रसुवागढी नाकाको राजमार्गलाई विशेष चासोका साथ हेरिएकाले आकस्मिक पहिरो पन्छाउन नपुग उपकरण भाडामासमेत लिनसक्ने व्यवस्था मिलाइएको सडक कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले बताए ।

स्याफ्रुदेखि रसुवागढीसम्मको १६ किमी सडक भूभागमा जाने पहिरो पन्छाउन भने विगत लामो समयदेखि निर्माणाधीन १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाले उपकरणको सहायताबाट सहयोग गर्दै आएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

आकस्मिक पहिरो पन्छाइएपछि सडक सतह राम्रोसँग मिलाउन नसक्दा मालवाहक सवारी साधनको टायर काटिने, फुट्ने तथा टुचीन लगाई तान्दा अन्य पार्टपुर्जा भाँचिने समस्य बढेको चालकले गुनासो गरेका छन् ।

राजमार्गका खाल्डाखुल्डी पुर्ने र सतहमा जमेका पानी नालीमा पठाउने कार्य प्रभावकारी हुन नसक्दा रसुवाको पासाङ्ल्हामु राजमार्ग भने जिर्ण बन्दै गएको छ । चीनबाट आयात भएका सामग्री दैनिक १५ कन्टेनर आउने गरेका र स्याउ तथा अदुवा एवं लसुन जस्ता सामग्री बोकेका कन्टेनरले भने जाँचपास प्रक्रियामा पहिलो प्राथमिकता पाउने प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए । रासस