काठमाडौँ – नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको भन्दै आलोचना हुने गरेकोमा निगम आफै भने घाटामा गएको छ । आर्थिक वर्ष २०७१/७२ देखि निरन्तर नाफा कमाइरहेको निगमले गत आर्थिक वर्ष २०७७/७८ मा ५ करोड नोक्सान ब्यहोर्नु परेको छ, जबकी आव २०७६/७७ मा मात्रै निगम १२ करोड नाफामा गएको थियो ।


ADVERTISEMENT


निगमले घाटामा जानुको पछाडिको कारण मूल्य समायोजन देखाएको छ । अन्तरराष्ट्रिय स्तरमा नै इन्धनको मूल्य बढेकोमा निगमले अन्तरराष्ट्रिय मूल्यअनुसार ह्वात्तै मूल्य नबढाएर विस्तारै समयोजन गर्ने प्रयास गरेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए । पेट्रोल डिजेलको मूल्यसँगै खाना पकाउने ग्याँसको मूल्य पनि बढेकोमा अहिले पनि निगमले प्रतिसिलिन्डर ३१९ रुपैयाँसम्म घाटा ब्योहोर्नु परेको उनले बताए ।


ADVERTISEMENT

# # #


‘उपभोक्तालाई पनि ध्यानमा राखेर नोक्सानमै पनि सेवा दिइरहेका छौँ,’ उनले भने, ‘गत आर्थिक वर्षमा पेट्रोलियम पदार्थको मूल्य १८ पटकसम्म समायोजन हुँदा ग्याँसको मूल्य २ पटक मात्र समायोजन गरेका छौँ ।’

कोरोनाका कारण तत्काल मूल्य नबढाउन सरकारले पनि सुझाएको कारण घाटामै सिलिन्डर बेचेको उनले बताए ।