काठमाडौँ – प्रधानमन्त्री शेर बहादुर देउवाले कोरोना संक्रमणबाट जनताको जीवन रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।


ADVERTISEMENT


बुधबार काठमाडौंमा नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्न सरकार लागि परेको र यसका लागि नीजी क्षेत्रको साथ आवश्यक रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘विकास लगायतका कुराहरु पनि आवश्यक छ । तर, सबैभन्दा पहिले जनताको जीवनरक्षा गर्नु आवश्यक छ ।’ उनले भने, ‘जनता गरिब छन्, खोप किन्न सक्ने अवस्था छैन । त्यसैले हामी सबै लागेर निशुल्क कोरोनाविरुद्धको खोप उपलब्ध गराउन प्रतिवद्ध होऔँ ।’

उनले मुलुकमा विकास लगायत धेरै कुराको आवश्यक रहे पनि अहिले भने सरकारको ध्यान कोरोना नियन्त्रणमा ल्याउनेमा रहेको धारणा राखे । प्रधानमन्त्री देउवाले नेपालमा कोरोनाको तेश्रो भेरियन्ट भित्रन नदिन हरसम्भव तयारी गरिरहेको उल्लेख गरे । उनले सवै नागरिकलाई खोपको पहुँचमा पुराउने प्रतिवद्धता दोहोर्‍याए ।

कोरोना नियन्त्रण र रोकथामका लागि सरकारलाई साथ दिन उनले निजी क्षेत्रलाई आह्वान पनि गरे । उनले भने, ‘अहिले महामारी फैलिएको छ । यसको उपचार, रोकथाम र नियन्त्रणका लागि सरकारले गरिरहेकै छ । यो उसको कर्तव्य पनि हो । साथसाथै तपाईहरुले पनि हातेमालो गरिदिनुहोस । तपाईंहरुको साथ रह्यो भने हामी यो कोरोनाको महामारीबाट चाँडै मुक्त हुनेछौँ भन्नेमा म आशावादी छु ।’

उनले अहिलेको अर्थमन्त्री मेहनती र भिजन भएको भन्दै नेपालको अर्थतन्त्रलाई पहिलेको भन्दा सुधार गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले हरेक कुरामा मुलुक आत्मनिर्भर नभएसम्म जनताको समस्या समाधान गर्न नसक्ने बताए । उनले उपभोकताबादी अर्थतन्त्रलाई उत्पादनमुलक अर्थतन्त्रमा बदल्ने चुनौती रहेको धारणा राखे ।

उनले भने, ‘उत्पादनवृद्धि नगरी आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न हामी सक्दैनौँ । त्यसका लागि मेक इन नेपालको अभियानले यस क्षेत्रमा योगदान गर्नेछ भन्ने मैँले विश्वास लिएको छु ।’ उनले कोरोनाका कारण निजी क्षेत्रमा परेको असरलाई माथि उठाउन राहत कार्यक्रम ल्याउने बताए ।

त्यस्तै उद्योगी विनोद चौधरीले नेपाललाई नै दक्षिण एशियाली राष्ट्रमा नै लगानी गर्ने उत्कृष्ट गन्तव्य बनाउनका लागि प्राथमिकताका साथ सरकारले काम गर्नुपर्ने बताए । उनले मुलुकको बिकासका लागि स्रोत र साधनको अधिकतम प्रयोग गर्नुपर्ने धारणा राखे ।

त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष सचिश कुमार मोरले कोरोना महामारीका कारण निजी क्षेत्रमा देखिएका समस्याका बारेमा जानकारी गराएका थिए भने कार्यक्रममा केही व्यवसायीलाई सम्मान गरिएको थियो ।