काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला आफ्नो राजनीतिक गुरु मात्रै नभइ अभिभावक पनि हुनुहुन्थ्यो भनेका छन् ।


ADVERTISEMENT


३९ औँ बिपी स्मृति दिवसका अवसरमा आज प्रधानमन्त्री देउवाले एक सन्देशमार्फत् बिपी कोइरालाको प्रेरणाले नै आफूहरु लोकतन्त्र प्राप्तिको आन्दोलनमा होमिएको उल्लेख गरे । प्रधानमन्त्री देउवाले आज आफ्नो स्मृति चार दशक अघि उनीसँगको सामिप्यतामा फर्किएको महसुस गर्दै बिपीको मार्गदर्शन जीवनभर आफ्नो प्रेरणा हुने पनि बताए ।


ADVERTISEMENT

# # #


नेपालको प्रजातान्त्रिक आन्दोलनका एक शिखर पुरुष एवं नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाप्रति प्रधानमन्त्री देउवाले श्रद्धासुमन व्यक्त गरे। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको योगदानको स्मरण गरी आज ३९औँ स्मृति दिवस मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिकाभरमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरी बिपी कोइराला, प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्री तथा कांग्रेस नेताहरुलाई बन्दी बनाएका थिए ।

बिपी कोइरालाले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् । उनका कैयौँ कृति नेपाली पाठकबीच लोकप्रिय छन् ।