डा. अरुण कुवँर


ADVERTISEMENT


बाल मानसिक रोग विशेषज्ञ


ADVERTISEMENT

# # #


कान्ति बाल अस्पताल ।

१५ वर्षीय आशिष(नाम परिवर्तन) आफ्नो अधिकांश समय आफू एक्लै नै व्यतीत गर्न चाहान्छन् । उनलाई आफ्ना आमाबाबु आफू नजिक आएको पटक्कै मन पर्दैन । त्यसलै उनी सकेसम्म आफ्नै घरमा पनि अभिभावकबाट दूरी बनाईराख्न चाहान्छन् । उनी आफ्नो अधिकांश समय सुतेर वा सामाजिक सञ्जालमा नभए आफ्ना साथीभाईसंग व्यतीत गर्न रुचाउँछन् । यसो गर्न पाउँदा उनी खुसी देखिन्छन् ।

१५ वर्षकै सुस्मिता(नाम परिवर्तन) को पनि अधिकांश व्यवहार आशिषसंग मिल्दोजुल्दो छ । उनी पनि आफ्नो अधिकांश समय सामाजिक सञ्जालमा आफ्ना साथीभाईसंग रमाइला कुराकानी गरेर र टिकटकमा भिडियो बनाएर बिताउँछिन् । उनको सामाजिक सञ्जालप्रति यति लगाव देखिन्छ की उनी आफ्नो सम्पूर्ण समयमा यसैमा बिताउन चाहान्छिन् । यसकारण पनि उनी आफ्ना आमाबाबुले उनको सो क्रियाकलापमा दखल नदियोस् भन्ने सोच्छिन् । र, आमाबाबुबाट सकेसम्म दूरी बनाइराख्छिन्, अभिभावकले भनेको मान्दिनन् पनि । उनको यस गतिविधिप्रति अभिभावक गुनासो गरिरहन्छन् ।

यता १७ वर्षका राजीव(नाम परिवर्तन) को गतिविधि देखेर पनि उनका अभिभावक आजित छन् । देशव्यापी रुपमा लकडाउन भएपछि घरमा मात्रै सीमित भएका उनको बोल्नका लागि पर्याप्त साथीहरु पनि छैनन् । अधिकांश समय मोबाइल चलाएर वा सुतेरै बिताउने उनी प्रायजसोः अध्याँरो र एकान्तमै  बस्न मन पराउँछन् । आफ्ना अभिभावक आफूअघि देख्दा झिँझो मान्ने उनी अरुको सानै कुरामा पनि रिसाउने र झर्किने गर्छन् भने प्रायजसोः टोलाउने र निराश तथा चिन्तित मुद्रामा देखिन्छन् । राजीवका अभिभावकले उनलाई मनोपरामर्शविद्कोमा लैजाने सल्लाह गरेका छन् ।

माथि उल्लेखित केही प्रतिनिधि घटना मात्रै हुन् । कोभिड–१९ को लहरले विश्वव्यापी रुपमा महामारी मच्चाएसंगै हाल नेपालमा पनि यसको रोकथाम तथा नियन्त्रणको विकल्पको रुपमा सरकारले लकडाउन तथा निषेधाज्ञा जारी गरेको अवस्था छ । अधिकांश व्यक्तिहरुले आफ्नो परिवारसंगै आफ्नो समय व्यतीत गर्ने मौका समेत पाएका छन् ।

तर, यसबीच आफ्ना बालबालिका अझ भनौँ विशेषगरी किशोर–किशोरीवस्थाका समूहका आफ्ना सन्तानहरुले आफूपट्टि ध्यान नै नदिने, भनेको नमान्ने, रिसाउने र एउटै कोठा अथवा स्थानमा मात्रै सीमित रहनेजस्ता असामाजिक व्यवहार देखाउने गतिविधिबाट आफूहरु आजित भएको गुनासोहरु अधिकांश अभिभावकबाट सुनिन थालेका छन् ।

आखिर किन बालबालिकाहरुले यस्ता व्यवहार किन देखाइ राखेका छन् ? उनीहरुमा देखिएको यस्तो परिवर्तन समस्या नै हो त ? र, यसका समाधानका उपायहरु के हुन सक्ला? यसै सन्दर्भमा हिमालय पोष्टका लागि सृजना मगरले बाल मानसिक रोग विशेषज्ञ  डा. अरुण कुवँर संग गरिएको कुराकानी उनकै शब्दमाः

‘आफ्ना बालबालिका एक्लै बस्न रुचाउने, आफूसंग समय व्यतीत नै गर्न चाहादैनन् र, भनेको मान्दैनन्’ भन्ने गुनासो पछिल्लो समय अधिकांश अभिभावकबाट साझा रुपमा सुनिन थालेका छन् । कतिपय अभिभावकहरु यही गुनासो बोकेर आफ्ना बालबालिकाको उपचारका लागि अस्पताल पनि धाउने गरेका छन् । तर, बालबालिकाका यस्ता व्यवहारलाई हामीले मुख्यगरी दुई दृष्टिकोणबाट बुझ्ने प्रयास गर्नुपर्दछ :

१. स्वभाविक प्रक्रिया

सर्वप्रथम प्रत्येक अभिभावकले बुझ्नुपर्ने कुरा के हो भने, बढ्दो उमेरको दौरानमा बालबालिकाको शारीरिक र मानसिक परिवर्तनसंगै उनीहरुको रूचि, इच्छा तथा आवश्यकताहरु पनि क्रमिक रुपमा परिवर्तन हुदैँ जान्छ । फलस्वरुपः उनीहरुमा सामाजिक एवम् व्यवहारिक परिवर्तनहरु समेत देखिन थाल्छन् ।

अर्थात्, कुनै पनि बालबालिका हुर्कने क्रममा विभिन्न पक्षहरु(जस्तोः साथीभाई, परिवेश तथा परिस्थिति)संग जोडिदैँ जादाँ उनीहरु क्रमशः अभिभावकबाट भने दूरी बढाउँदै लैजान्छन् । र, यसै विषयलाई पनि अभिभावकले गुनासो गर्ने गरेको पाइन्छ । तर, यो स्वभाविक प्रक्रिया भएकाले आत्तिनुपर्ने विषय भने होइन ।

यस्तै, प्रत्येक व्यक्ति तथा बालबालिका फरक–फरक स्वभाव वा प्रकृतिका हुने गर्छन् । जसकारण उनीहरु एकबाट अर्काेभन्दा भिन्न हुने गर्दछ । जस्तोः फरक–फरक स्वभावकै कारण उनीहरुमध्ये कोहि धेरै बोल्न रुचाउने, कोहि धेरै बोलेको मन नपराउने हुन्छन् भने तीमध्ये केहीलाई अन्य(साथीभाइ वा अभिभावक)संग समय व्यतीत गर्न इच्छा लाग्छ भने केहीलाई लाग्दैन । र, यो उनीहरुको स्वभावका कारण उनीहरुमा देखिने भिन्नता पनि हो ।

तसर्थ कुनै पनि अभिभावकले प्रत्येक बालबालिकाबाट एकै किसिमको व्यवहारिक पक्षको अपेक्षा राख्ने र यसका लागि उनीहरुलाई मजबुर गराउने गल्ती कदापि गर्नुहुदैँन ।

२. एडजेस्टमेन्ट डिसअर्डर

कतिपय अवस्थामा आफूमा आइपर्ने विभिन्न बाधा अड्चनलाई समाधान गर्न नसकेको खण्डमा बालबालिकामा सामाजिक समस्याअन्तर्गतको ‘एडजेस्टमेन्ट डिसअर्डर’ समस्या समेत देखापर्ने सम्भावना प्रबल रहन्छ । ‘समायोजनको पक्षमा देखापर्ने विकार’ समेत भनिने यसकारण पनि बालबालिका आफ्ना अभिभावकबाट टाढिने गर्छन् ।

बालबालिकामा यस्ता समस्या विशेषगरी घर झै–झगडा, पारिवारिक समस्या, आर्थिक समस्या, विद्यालयमा पढाईमा भएको असहजीकरण एवम् मानसिक रुपमा विक्षिप्त बनाउने किसिमका आघातपुर्ण घटना तथा तनावपुर्ण परिस्थितिका कारण उत्पन्न हुने हुन्छ ।

समस्या पहिचान    

हामीले के ख्याल राख्नुपर्छ भने, यदि बालबालिका उनीहरुको साथी सर्कलमा नै रमाउँछन् र, खुसी छन् भने त्यसलाई समस्या भन्न मिल्दैन । तर, अकस्मात् बालबालिकाको नियमित व्यवहारमा परिवर्तन देखा परे त्यस विषयमा भने अभिभावक सचेत रहनुपर्छ ।

‘एडजेस्टमेन्ट डिसअर्डर’ को समस्या देखिएका बालबालिकामा प्रायजसोः निराश रहने, आत्तिने, डराउने, चिन्तित रहने, एक्लै बस्न रुचाउने, निन्द्रामा गडबढि देखिने, भोक नलाग्ने, एकै कुरामा ध्यानकेन्द्रित गर्न नसक्ने तथा दैनिक कार्यविधिलाई समेत निरन्तरता दिन नसक्नेजस्ता समस्याको रुपमा लक्षणहरु देखा पर्दछ ।

समस्या समाधानको निम्ति अभिभावकको भूमिका

– बालबालिकामा परेको समस्याबारे खुलस्त रुपमा बताउन सकिने पारिवारिक माहोलको सिर्जना गर्ने,

– उनीहरु सामु सदैव साथी एवम् विश्वासिलो पात्रको रुपमा प्रस्तुत हुने र उनीहरुको प्रत्येक कुरा ध्यान दिएर सुन्ने बानी बसाल्ने,

– उनीहरुको रूचिका विषयलाई समेत आवश्यक समय छुट्याई दैनिक समयतालिका बनाउँदै त्यसलाई अनुशरण गर्ने र गराउने,

– आफ्ना पेशेवर समस्यालाई सोहि क्षेत्रमा नै सीमित राख्दै उनीहरुसंग सक्दो समय व्यतीत गर्न प्रयास गर्ने,

– मनोरञ्जनात्मक तथा रचनात्मक क्रियाकलापमा उनीहरुसंगै आफू पनि सरिक हुने तथा घरका कामहरुमा आफूसंगै उनीहरुलाई पनि समावेश गराउने,

– प्रत्येक बालबालिका आफ्नै स्वभावको हुने भएकाले कहिल्यै पनि आफ्नो बालबालिकालाई अन्यसंग तुलना गर्ने गल्ती नगर्ने,

– आफ्ना सन्तानको व्यवहारिक तथा सामाजिक पक्षअन्तर्गत अकस्मात् देखिएको परिवर्तन (निराश हुने, चिन्तित रहने, एक्लै बस्न रुचाउने, रिसाउने, झर्किने, आत्तिने र डराउनेजस्ता आदि) को पहिचान गर्दै सोको बारे उनीहरुबाटै बुझी त्यसको हल गर्ने प्रयास गर्ने । र, आवश्यक परेको खण्डमा मनोपरामर्श विद्को सहयोग समेत लिने ।