दुर्घटनामा परी ज्यान गुमाएका ९ मध्ये ६ जनाको शव आफन्तलाई बुझाइएको छ।


ADVERTISEMENT


काठमाण्डौं :उदयपुरको कटारी नगरपालिका-११ ठाडीमा सोमबार भएको दुर्घटनामा परी ज्यान गुमाएका ९ मध्ये ६ जनाको शव आफन्तलाई बुझाइएको छ।
चालक कटारी नगरपालिका-२ का २६ वर्षीय हरि कार्की, ओखलढुंगा चिशंखुगढी गाउँपालिका-३ का ३२ वर्षीय ईश्वरप्रसाद भट्टराई, सप्तरी कविलासी-३ का ३२ वर्षीय गंगाराम साह, सप्तरी पत्थरगाढा-४ का ३५ वर्षीय राधेश्याम महतो, चिशंखुगढी गाउँपालिका-३ ओखलढुंगाकी ३० वर्षीया अञ्जना राई र वरुणेश्वर-७ ओखलढुंगाका १९ वर्षीय दीपक भित्रिकोटीको शव आफन्तलाई बुझाइएको हो।


ADVERTISEMENT

# # #


मृतकका आफन्तले मंगलबार इलाका प्रहरी कार्यालय कटारीमा आएर शव जिम्मा लिएको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । दुर्घटनामा मृत्यु भएका सप्तरी कविलासा-३ का मिथिलेस साह, बेलका नगरपालिका-३, उदयपुरका २० वर्षीय सन्देश किराँती र सप्तरी वैशा-३ का रुपेन्द्र वर्माको आफन्त आइनसकेकाले शव हस्तान्तरण नभएको श्रेष्ठले बताए।

प्रहरीका अनुसार उनीहरूका आफन्तलाई पोस्टमार्टम प्रक्रिया पूरा गरी बुधबार शव जिम्मा लगाइनेछ। कटारीबाट ओखलढुंगा जाँदै गरेको टाटासुमो सोमबार दुर्घटना हुँदा ८ जनाको घटना स्थलमै र १ जनाको उपचारका क्रममा कटारी अस्पतालमा मृत्यु भएको थियो।

सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी-घुर्मी सडकखण्डको कटारी नगरपालिका-११ लेखानी ठाडीमा ना.१ज ३४०४ नम्बरको जिप दुर्घटना भएको थियो। चालकसहित ११ जना सवार उक्त जिपमा चिशंखुगढी गाउँपालिका-३ ओखलढुंगाकी ३ वर्षीया बालिका सृष्टि राईलाई स्थानीयले सकुशल उद्धार गरेका थिए। उनकी आमा अञ्जनाको भने दुर्घटनामै ज्यान गएको छ । त्यसैगरी, दुर्घटनामा परी घाइते भएकी वरुणेश्वर गाउँपालिका-७ की १८ वर्षीया कुमारी भित्रिकोटीको कटारी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लगिएको छ।

सडकबाट करिब ५ सय मिटर भीरमा खसेको जिपबाट शवलाई ३ घन्टा लगाएर सडकमा निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज भट्टले जानकारी दिए। – आजको अन्नपूर्णबाट