चितवन – भरतपुर महानगरपालिकाले सार्वजनिक निजी साझेदारीमा नारायणगढको लायन्स चोकमा १२ तले मेट्रो प्लाजा निर्माणका लागि निजी कम्पनीसँग सम्झौता गरेको छ । महानगरपालिका र आर्या बिल्डर्स एण्ड इञ्जिनीयरिङ प्रालिबीच भरतपुर मेट्रो प्लाजा निर्माणका लागि सम्झौता गरिएको हो ।


ADVERTISEMENT


जिल्लाको प्रमुख शहर नारायणगढको मुख्य भागमा अवस्थित लायन्स चोकमा पाँच तारे होटलसहितको बहुउद्देश्यीय प्लाजा निर्माण गर्न लागिएको हो । महानगरपालिकाले सो ठाउँमा रहेको १० कठ्ठा जग्गा ३० वर्षका लागि आर्या बिल्डर्सलाई प्लाजा निर्माणका लागि दिने सम्झौता गरेको हो । यस अवधिमा महानगरले राजस्व रु ८१ करोड प्राप्त गर्ने छ भने त्यसपछिको स्वामित्व महानगरको हुनेछ ।


ADVERTISEMENT

# # #


महानगरप्रमुख रेनु दाहालले देशमा नै पहिलोपटक सार्वजनिक निजी साझेदारी नमूनामा भरतपुरले महत्वपूर्ण काम गर्न सफल भएको बताइन् । परियोजना निर्माण तथा सञ्चालन सम्झौता निरन्तरको प्रयासपछि सम्पन भएको तथा यो परियोजना जिल्लाको समग्र विकासमा एक कोसेढुङ्गा सावित हुने उनको भनाइ छ ।

पछिल्लो समय नेपाली समाजको सुविधा सम्पन्न मल तथा अपार्टमेन्टप्रति आकर्षण बढिरहेको उल्लेख गर्दै उनले सुविधा सम्पन्न भरतपुर मेट्रो प्लाजा आफ्नो गौरवको आयोजना भएको बताए । यसलाई सम्झौतामा तोकिएकै समयमै निर्माण सम्पन्न गर्न आर्या बिल्डर्सलाई उनले आग्रह गरे । प्रमुख दाहालले भरतपुरको समग्र विकासमा आफ्नो जोड रहेको भन्दै सिटीहल, मेट्रो प्लाजा, छ लेन सडक, स्मार्ट सडकलगायतका आयोजना सम्पन्न हुँदा भरतपुरको मुहार फेरिने बताइन् । उनले भनिन्, “यो प्लाजाले नारायणगढलाई व्यवस्थित शहर बनाउन सहयोग पुग्ने छ ।”

उपप्रमुख पार्वती शाह ठकुरीले भरतपुरको मुटुमा ठूलो परियोजना अगाडि बढाउन लागिएको भन्दै यो कार्यकालको महत्वपूर्ण परियोजना भएको बताइन् । समयमै निर्माण सम्पन्न गर्न आर्या बिल्डर्सलाई उनले आग्रह गरिन् । सार्वजनिक निजी साझेदारी मोडलमा यो विशाल परियोजना निर्माणले भरतपुर र समग्र चितवनमै थप आयाम थपिने उनको भनाइ छ ।

आर्या बिल्डर्स एन्ड इञ्जिनीयरिङका प्रबन्धक जीवन कँडेलका अनुसार भदौको पहिलो साताबाटै निर्माणको काम अगाडि बढाइने छ । महानगरसँग तीन वर्षभित्रमा काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ । निर्धारित समयअघिनै परियोजना सम्पन्न गर्ने गरी कार्ययोजनाका साथ काम अगाडि बढाउने उनको भनाइ छ । निर्माणाधीन बहुतले भरतपुर मेट्रो प्लाजा दुई तला अन्डर ग्राउन्ड पार्किङसहित १६ तलाको हुनेछ । प्लाजा तीन लाख २५ हजार वर्ग फिट र ५१ मिटर उचाइको रहने छ ।

दुई तला बेसमेन्ट पार्किङको सुविधा हुने भवनमा पाँच तारे होटलदेखि सिनेमा हल, फुट कोर्टका साथै व्यावसायिकस्थल हुनेछन् । आयोजनाको निर्माण आर्या बिल्डर्सले गर्नेछ भने यसको अनुगमन र नियमन भरतपुर महानगरपालिकाले गर्ने छ । प्लाजा निर्माणमा दुई अर्ब लागत लाग्ने अनुमान रहेको छ । रासस

–––