लक्ष्मण कार्की (अध्यक्ष : स्वतन्त्र कर्मचारी संघ, एनसीसी बैंक)

तपाईं अहिले एनसीसी बैंक कर्मचारी युनियनको अध्यक्ष हुनुहुन्छ । आफ्नो यहाँसम्मको यात्रालाई कसरी सम्झिनु हुन्छ ?


ADVERTISEMENT

# # #


वास्तवमा म सानैदेखि बहुत मिहेनती मान्छे हो । सानैदेखि मिहिनती भएकाले कहाँ के गर्ने, कसरी उदाहरण बन्ने, कसरी उदाहरणीय काम गर्ने किसिमले अरुले गर्न सक्ने काम म पनि गर्न सक्छु भन्ने सोच भएको मान्छे थिएँ । बचपनदेखि नै म यस्तो मिहिनती थिएँ । एकक्षण पनि समय खेर नजाओस् भनेर केही न केही गरिरहेको हुन्थेँ । ५ मिनेट मात्रै समय खालि भयो भने पनि त्यसलाई उपयोगी बनाउने गरी अघि बढ्थेँ । अनि सानैदेखि बुवाआमाका काममा हात बढाउँथे, सानैदेखि म सहयोगी थिएँ । अरुको दुःख देख्न नसक्ने खालको मान्छे, सानैदेखि यस्तो भएको कारण सायद म यो ठाउँमा आइपुगेको हुँ जस्तो लाग्छ ।

बैंकसँग कसरी जोडिनुभयो ? बैंकमा प्रवेश गरिसकेपछिका संघर्षका दिनहरु कसरी अगाडि बढाउनुभयो ?

२०४३ मा मैँले एसएलसी पास गरेँ र त्यसपछि विभिन्न कामहरु गरेँ । विभिन्न व्यवसाय गरिराख्ने क्रममा मान्छेका चाहनाहरु बदलिने रहेछन् । त्यस क्रममा २०५५ सालमा एनसीसी बैंकमा सामान्य एउटा पोष्टम्यानका लागि विज्ञापन आएको थियो, त्यता निवेदन दिएर सबैभन्दा पहिले म चालकको रुपमा बैंकमा छिरेको हो, रहरै रहरले । त्यतिबेला परिवार पाल्न पर्ने लगायतका बाध्यताका कारण नभईकन रहरले म बैंकमा छिरेको थिएँ, अँग्रेजी जानेको मान्छे मागेको थियो, म विदेशमा गएर आएकाले राम्रो अँग्रेजी थियो । निवेदन दिएको एक महिनामा अन्तरवार्ता भयो र म बैंकमा आएँ । १६ वर्ष म चालक नै भएर बसेँ । त्यतिबेला विदेशी कर्मचारीहरु थिए, खुबै माया गरे । त्यसपछि नेपाली कर्मचारीहरु आए र त्यसपछि पनि एउटा पारिवारिक माहोलमा मैँले यहाँ काम गर्न पाएँ । त्यसपछि बैंकले आवेदन खुलायो र ट्रेनिङ जुनियर असिस्टेन्सका लागि परीक्षा दिएर एक नम्बरमा नाम निकालेर कार्यालयभित्रको कर्मचारीका रुपमा प्रवेश गरेँ ।

मेरो कामलाई सबैले राम्रो मान्नुभयो र त्यसअनुसार पदोन्नति हुँदै जुनियर असिस्टेन्स हुँदै अहिले असिस्टेन्समा रहेको छु । युनियन नहुँदा पनि म एक्लै गएर पनि कर्मचारीका हकहितका लागि व्यवस्थाकसँग आवाज उठाउँथेँ, कर्मचारीले पनि मन पराउनु भयो र त्यसअनुसार २०७० मा युनियन सदस्य हुँदै त्यसपछि उपाध्यक्ष हुँदै अहिले नेतृत्वमा आएँ । हामी अधिवेशनको तयारीमा हिँडिरहेका छौँ, कर्मचारीले तेस्रो पटक पनि मलाई नै उठ्नुपर्छ भनेर भनेर अघि सारिराख्नु भएको छ ।

कर्मचारी युनियनमा पनि काम गरिरहँदा संस्थालाई मजबुत बनाउन कर्मचारीहरुको दायित्व के हुन्छ, व्यवस्थापनको के हुन्छ र संस्थामा व्यवस्थापन र कर्मचारीबीचको सम्बन्ध कस्तो हुनुपर्छ ?

सबैभन्दा ठूलो कुरा व्यवस्थापक र कर्मचारी एकअर्काका परिपूरक हुन्छन् । व्यवस्थापक र कर्मचारीबीचको पुलको काम युनियनले गर्छ । व्यवस्थापकबाट कमिकमजोरी भयो भने चिठ्ठीबाट अथवा मौखिक रुपमा होस् सजक गराउँछौँ, सुझाव दिन्छौँ । कर्मचारीलाई पनि संस्था रहे हामी रहन्छौँ त्यसकारण संस्था बलियो बनाउन आफ्नो भनेर काम गर्नुपर्छ भनेर त्यसअनुसार प्रोत्साहन गर्छौँ । संस्थाका सुविधाहरु हेर्दा कर्मचारीलाई एकदमै राम्रा सुविधा दिएको छ, वार्षिक ३/४ लाख बोनस सामान्य कर्मचारीले पाउँछन् ।

त्यसअनुसार आफ्नै उद्योग ठानेर काम गर्न प्रोत्साहन गर्छौँ । केही समस्या भए, गलत सोच भएका मान्छेलाई बोलाउँछौँ, सम्झाउँछौँ, त्यो भएन भने प्रतिनिधिलाई सम्झाउन लगाएर होस् वा जे गरेर होस् हामी सकारात्मक बनाउँछौँ । पहिले हामी कर्मचारी मिहिनती हुनुपर्छ, संस्था बलियो बनाउनुपर्छ अनि संस्था बलियो भएपछि त्यसअनुसार सेवा सुविधा दिन समर्थ हुन्छ संस्था बलियो बनाएपछि माग पूरा हुन्छन् । त्यसका लागि हामी काम गर्छौँ । यो सिद्धान्तले कर्मचारी र व्यवस्थापकबीच पुलको काम हामी गर्छौँ ।

सामाजिक सुरक्षा कोषबारे पछिल्लो अदालती फैसलाबारे के टिप्पणी गर्नुहुन्छ ?

हाललाई स्टे अर्डर दिएको छ । सम्मानीय अदालतले कर्मचारी साँच्चिकै मर्कामा रहेको रैछ भनेर यस किसिमको फैसला गरेकोमा आभारी छौँ । हाम्रा समस्या बुझ्नुभाको रहेछ । र अब यसका मुद्दाहरु छन्, विधान नै संशोधन गर्नुपर्ने कुरा छन् । भोलिका दिनमा अझ सुधार भएर आउँछ भन्ने अपेक्षा छ ।

अन्त्यमा, कर्ममा सफल हुन के गर्नुपर्छ जस्तो लाग्छ ?

सबैभन्दा ठूलो कुरा त मानिसमा कुनै पनि काम अरुले सक्छ भने मैले किन सक्दिनँ भन्ने भावना हुनुपर्छ । भावनामै उसले सक्छ मैले सक्दिनँ भन्ने भयो भने शुरुमै कमजोर भइन्छ । अरुले सक्ने काम अरुले सक्छन् भने मैले किन नसक्ने ? यो हुनेबित्तिकै मेहनत गर्ने मन लाग्छ । हामीले चाहेको कुरा प्राप्त गर्नका लागि दत्तचित्त भएर खटिनुपर्छ, र हामी सहज ढंगले सफल हुन सक्छौँ जस्तो मलाई लाग्छ ।

परिवारका साथ कार्की ।

प्रतिकृया

प्रतिकृया