काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि गत भदौ १ गते डा. गोविन्द केसीले अनसन स्थगित गरे ।


ADVERTISEMENT


चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक पटक अनसन बस्दै आएका डा. केसीले प्रधानमन्त्री देउवासमक्ष गत साउन २२ गते विभिन्न ५ बुँदे माग राख्दै सरकारलाई अल्टिमेटम दिएका थिए । आफ्ना माग पूरा नभए भदौ ३ गतेदेखि अनसन बस्ने डा. केसीको चेतावनी थियो । तर, प्रधानमन्त्री देउवाले अल्टिमेटम सकिनु दुई दिन अगाडि नै डा. केसीसँग सहमति गरेका हुन् ।


ADVERTISEMENT

# # #


अल्टिमेटमप्रति सरकारको सुनुवाई नहुँदा पटक पटक अनसन बस्न बाध्य हुँदै आएका डा. केसीलाई यस पटक भने त्यस्तो अवस्था आइपरेन । डा. केसी र प्रधानमन्त्री देउवाबीच वार्ता गराउन सफल पात्र हुन् नेपाल चिकित्सक संघ (एनएमए)का अध्यक्ष डा. लोचन कार्की ।

डा. लोचन कार्कीले पुलको भूमिका निर्वाह गर्दा डा. केसी र प्रधानमन्त्री देउवाबीच सहमति जुट्यो । जसले डा. केसीको अनसन टर्‍यो सँगसँगै यसअघि सरकार र डा. केसीबीच भएका सहमति कार्यान्वयन हुने बाटो समेत खुलेको छ ।

अध्यक्ष डा. कार्कीले सुरुमा डा. केसी पक्षसँग छलफल गरे । उक्त छलफलबाट निस्किएका कुरालाई प्रधानमन्त्रीसँग राखे । उनले सम्झिए, ‘सहमति गरेर समस्यालाई सम्बोधन गरिनुपर्छ भनेर हामीले दुबै पक्षलाई वार्तामा ल्याउन सफल भएका हौँ ।’

‘डा. केसी भदौ ३ गतेदेखि अनसन बस्ने तय भइसकेको थियो । तर, हामीले १ गते नै प्रधानमन्त्रीसँग भेट गराएर सहमतिपछि आन्दोलनलाई टुंग्यायौँ’ अध्यक्ष डा. कार्कीले हिमालय पोष्टसँग भने, ‘प्रधानमन्त्रीले उहाँ (डा. केसी)ले उठाएका मागहरु सम्बोधन गर्छु भनेपछि डा. केसी विश्वस्त भएर नै अनसन स्थगित गर्नु भएको हो ।’

कोरोना महामारीका कारण अस्तव्यस्त बनेको स्वास्थ्य क्षेत्र डा. केसीको अनसनले अझ प्रभावित हुने खतरा थियो । किनकि यसअघि स्वास्थ्यकर्मीहरुले डा. केसीका मागप्रति समर्थन जनाउँदै माग पूरा नहुँदा स्वास्थ्य सेवा नै बन्द गराउँदै आएका थिए । तर, एनएमए अध्यक्ष डा. कार्कीले यस पटक उक्त अवस्था आउन नदिनका लागि प्रधानमन्त्री देउवासँग बार्ता गरेर सरकारसँग डा. केसीको सहमति गराएर खेलेको भूमिकालाई ऐतिहासिक सफलताको रुपमा हेरिएको छ ।