नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले ओमानमा घरेलु टिम र अमेरिकासँग खेल्ने निकै कठिन हुन सक्ने बताएका छन् ।


ADVERTISEMENT


टियु क्रिकेट मैदानमा त्रिकोणात्मक एकदिवसीय सिरिज अघिको अन्तिम अभ्यासपछि सञ्चारकर्मीसंग कुरा गर्दै मल्लले बलियो र अनुभवी टिमविरुद्ध नतिजा निकाल्न कठिन हुनसक्ने बताएका हुन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले यसै महिना ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्दैछ ।


ADVERTISEMENT

# # #


सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म आयोजना हुनेछ ।ओमानले पछिल्लो समय धेरै राम्रो गरिरहेको र अमेरिका क्रिकेटको पावर हाउस बनेर आएको उनले बताए । नेपालसंग अनुभव प्राप्त खेलाडी कम भएकाले गार्हो हुन्छ जस्तो लागेको उनको भनाई छ ।

‘सबैभन्दा पहिले त खेल्दाखेरि पिचदेखि लिएर परिस्थितिले पनि निर्भर गर्छ । फेरि ओमानमा गर्मी पनि बढिरहेको छ । फेरि हामी डे–नाइटमा खेलिरहेका छौँ । त्यसको अनुभव हामीसँग छैन ।’ उनले भने, ‘ओमान पछिल्ला वर्षहरुमा राम्रो खेलिरहेको छ । अमेरिका पनि पावर हाउसका रुपमा आइरहेको छ । त्यसले हामीलाई अलि चुनौति नै हुन्छ जस्तो लाग्छ ।’

सिरिज अघि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग दुई एकदिवसीय खेल खेल्नेछ । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक डेभ वाटमोरले सिरिज अघि पपुवा न्युगिनीसंग हुने खेल पनि महत्वपूर्ण रहेको बताए ।

सिरिजका लागि नेपाली टिम मंगलबार ओमान प्रस्थान गर्ने छन् । नेपाल क्रिकेट संघ (क्यान) ले मल्लको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरिसकेको छ । यस अघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । जसमा नेपालले अमेरिकालाई दुई खेलमा हराएको थियो भने ओमानसँग दुबै खेलमा पराजित भएको थियो ।

लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।

टिम नेपाल
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, गुल्शन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहित पौडेल, सुशन भारी, शरद् भेषवाकर, विक्रम सोब ।