काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको आसन्न १४ औँ महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्दै सम्पर्क कार्यालय स्थापना गरेका छन् ।


ADVERTISEMENT


उनले नेता कार्यकर्तासँग भेटघाटका लागि नयाँ बानेश्वरस्थित थापा गाउँमा सम्पर्क कार्यालयको आज शुभारम्भ गरेका हुन् । कार्यालयको शुभारम्भ गर्नुअघि उनले पुजारीको आशिर्वाद लिएका थिए ।


ADVERTISEMENT

# # #


सो अवसरमा उनले आफू कसैलाई पराजित गर्न र ‘रिटाएर’ गर्न तथा असक्षम घोषण गर्न पार्टी सभापति पदमा उम्मेदवरीको घोषणा नगरेको जिकिर गरेका छन् ।

उनले भने, ‘कांग्रेसलाई बलियो बनाउन र आगामी सबै तहका निर्वाचनमा पार्टीलाई बहुमत हासिल गर्ने मेरो चाहना हो । यसैका लागिपार्टी सभापतिको उम्मेदवारी घोषणा गरेको हुँ ।’ आफू पार्टीका संस्थापक नेता बिपी कोइरालाको प्रेरणा र योगदानले नै आजको अवस्थामा आइपुगेको उनले जनाएका छन् ।

संविधानसभाबाट कांग्रेसको बहुमत नहुँदा पनि आफूहरु सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी राजनीतिक व्यवस्थासहितको संविधान जारी गर्न सफल भएको उल्लेख गर्दै उनले कांग्रेसले यसको कार्यान्वयन गर्र्दै स्वामित्व लिने र संविधानलाई अलपत्र पर्न नदिने स्पष्ट पारे । गत तीन वर्षमा संविधानका मर्ममा विश्वास नगर्ने राजनीतिक दल सत्तामा हुँदा मुुलुकमा सबै क्षेत्रमा विकृति देखिएको धारणा व्यक्त गर्दै उनले भने, ‘आगामी आमनिर्वाचनमा हामी यो विषय जनतामाझ उठाउँछौँ ।’ आगामी निर्वाचनमा कांग्रेस गुट उपगुटभन्दा माथि उठेर आओस् भन्ने जनताको चाहना रहेको उनको भनाई छ ।

पार्टीको क्रियाशील सदस्यतामा ३५ प्रतिशतभन्दा बढी युवा वर्गको प्रतिनिधित्व रहेको अवगत गराउँदै निधिले आफू युवा वर्गका लागि पार्टीमा सहजकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको जनाए । फरक प्रसङ्गमा पूर्व उपप्रधानमन्त्री निधिले संविधानले सबैलाई धार्मिक स्वतन्त्रताको अधिकारको सुनिश्चितता गरेको जनाउँदै सबैले सबै धर्मको सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य, जिल्ला सभापति तथा विभिन्न जिल्लाबाट आएका नेता कार्यकर्ताको सहभागिता थियो । रासस