मकवानपुर – माधव नेपालको नवगठित पार्टी नेकपा एकीकृत समाजवादी (एस)तर्फ लागेका वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले आज पदबाट राजीनामा दिएका छन् ।
एमालेकी नेता अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री भएपछि मन्त्री बनेका खनालले बुधवार बिहान पदबाट राजीनामा दिएका हुन् ।
नेकपा (एमाले)का तर्फबाट मन्त्री बनेका उनले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेकै कारण राजीनामा दिएको बुझिएको छ ।
उनले राजीनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री शाक्यसहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र रहेका छन् ।
उनले आफू अर्को पार्टीमा लागेकाले काम गर्न सहज होस् भनेर राजीनामा दिएको बताएका छन् । उनले मंगलवार निर्वाचन आयोगको कार्यालय हेटौँडामा पुगेर ‘एस’ पार्टी रोज्दै सनाखत गरेका थिए, भने मन्त्री बन्नु अघि नै उनले माधव नेपाल समूह नछाड्ने बताएका थिए ।