विराटनगर – ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा कोशी प्रदेशका विभिन्न जिल्लामा आयोजित रक्तदान कार्यक्रममा २०६ जनाले रक्तदान गरेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा मंगलबार मोरङको विराटनगर महानगरपालिका–९ स्थित पञ्चमुखी हनुमान मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल प्रहरी अस्पताल इनरुवा, सुनसरी र विराट मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा १३६ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनाल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटवाल, सशस्त्र प्रहरी बल कंकालिनी गण मोरङका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गहेन्द्र भण्डारीलगायतको उपस्थिति रहेको थियो ।
रक्तदान कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानीयवासी, सञ्चारकर्मी तथा विभिन्न कलेजका शिक्षक र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
यसैगरी, प्रहरी दिवसकै अवसरमा झापा, इलाम र धनकुटामा आयोजित रक्तदान कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी गरी थप ७० जनाले रक्तदान गरेका छन् ।
प्रहरी दिवसको अवसरमा आयोजित यस्ता कार्यक्रमले रक्त अभाव न्यूनीकरण गर्न सहयोग पुर्याउनुका साथै प्रहरी र समुदायबीचको सम्बन्धलाई थप सुमधुर बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ ।



























